No Image Headlineप्रदेश

भन्सार छलीका सामान निर्बाध विक्री

Thrill Factory
Rungta Group

विराटनगर । भारतीय बजार जोगबनीबाट अवैध रूपमा ल्याइएका बिलबिजकविनाका खाद्यपदार्थ लगायत सामग्री विराटनगरका खुद्रा पसलहरूले निर्बाध विक्री गरिरहेको पाइएको छ । उद्योगी व्यवसायीले भारतबाट अवैध रूपमा आउने वस्तुको कारण नेपालको उत्पादन विक्री नभएको गुनासो गरिरहेको बेला अनुगमन टोलीले यस्तो तथ्य फेला पारेको हो ।

उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले बजार अनुगमन गर्ने क्रममा यहाँका खुद्रा पसलका व्यापारीहरूले क्यारिङमार्फत भन्सार छली गरेर ल्याइएका खाद्यवस्तु लिने गरेको फेला परेको छ । त्यस्ता खाद्यवस्तुको बिलबिजक देखाउन नसक्दा विराटनगरका तीनओटा खुद्रा पसल कारबाहीमा परेका छन् ।

कारबाहीमा पर्नेहरूमा विराटनगर–९ बी प्लटभित्र रहेको मोनिका पूजा एवं किराना पसल, गणेश किराना भण्डार र ओम शान्ति किराना पसल रहेका छन् । पसलमा रहेका खाद्यवस्तुको बिल बिजक नभएपछि सम्बन्धित पसलेलाई कारबाही गरिएको उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

वाणिज्य कार्यालयले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाहीको दायरमा ल्याएको उनले बताए । कार्यालयले मोनिका पूजा एवम् किराना पसललाई २० हजार, गणेश किराना भण्डार र ओम शान्ति किराना पसललाई १०/१० हजार रुपैयाँ जरीवाना गराएको हो । खुद्रा पसलहरूमा तस्करी भएका चिनी, दाल, बिस्कुट, पापडलगायतका खाद्यवस्तु आउने गरेको पाइएको छ ।

व्यापारीहरूले जोगवनीमा गएर खाद्यवस्तु खरीद गर्ने र उनीहरूले क्यारिङ गर्नेलाई सामान पसलसम्म ल्याउने जिम्मा दिने गर्दछन् । पसलसम्म खाद्यवस्तु ल्याउन क्यारिङ गर्नेलाई निश्चित रकम दिने सहमति हुने गर्दछ । सहमति अनुसार क्यारिङ गर्नेले पनि भरिया प्रयोग गरेर गन्तव्यसम्म ल्याउने गर्दछन् । यसरी क्यारिङमार्फत भारतबाट तस्करी गरी ल्याइएका खाद्यवस्तुको विक्री वितरण सबैभन्दा बढी विराटनगरको पुरानो गुद्री र नयाँ गुद्रीका होलसेल तथा खुद्रा पसलेहरूले गर्ने गरेको स्रोतले जानकारी दिएको छ । अनुगमनको क्रममा विराटनगर–९ मा रहेको टाटा किराना पसलमा म्याद सकिएको खाद्यवस्तु भेटिएको थियो । म्याद सकिएको मसला, पाउडरलगायतका ५ हजार ४०० रुपैयाँ बराबरको खाद्यवस्तु अनुगमन टोलीले नष्ट गरेको छ । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button