No Image Headlineअर्थ

भारतले ६ महीनाका लागि खोल्यो पाम आयलको आयात

Thrill Factory
Rungta Group

वीरगञ्ज । आयात प्रतिबन्ध लगाएको १ वर्षपछि भारतले पाम तेलको आयात फुकुवा गरेको छ । भारतले आगामी ६ महीनाका लागि पैठारी खुला गरेपछि अब नेपालबाट प्रशोधित पाम आयलको भारत निकासीको बाटो खुलेको छ ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले मंगलवार सूचना निकालेर पाम आयलको आयात खुला गरिएको जानकारी दिएको हो । भारतले आगामी डिसेम्बर अन्तिम (पुस १६) सम्मका लागि आयात खुलाएको छ । भारतमा खाने तेलको मूल्य वृद्धि भएपछि भारत सरकारले पाम तेलको आयातका लागि नेपाललगायत अन्य मुलुकलाई समेत अनुमति दिएको हो ।

भारतले पाम तेल आयात खोलेपनि निकासी गर्न कम्तीमा अझै १ महीना लाग्ने ओबीसी फुडका सञ्चालक सुरेश रुंगटाले बताए । ‘भारत निकासी रोकिएपछि उद्योगीहरू अहिले भटमासको तेल निर्यातमा केन्द्रित भएका छन् । कच्चा पाम आयल भित्र्याएर प्रशोधन र निकासी गर्न १ महीना समय लाग्छ,’ उद्यमी रुंगटाले भने ।

नेपाली उद्यमीले इन्डोनेशिया र मलेशियाबाट ल्याएको कच्चा पाम प्रशोधन गरी भारत निकासी गर्छन् । आयातित पाम आयलले आफ्ना उद्योग र कृषकलाई प्रतिकूल प्रभाव पारेको भन्दै भारतले २०७७ वैशाख ३० गतेयता आयातमा पूर्ण रोक लगाएको थियो ।

त्यसअघि २०७६ पुस २३ मा लगाइएको रोक १ महीनाापछि परिमाणात्मक बन्देजसहित खुला गरेको थियो । भारतले पाम आयल आयातमा उच्च दरको महसुल लगाएको छ ।

कच्चा पाम तेलको आयातमा ३० दशमलव २५ र प्रशोधितमा ४१ दशमलव २५ प्रतिशत शुल्क लिन्छ । नेपाली उद्योगीले १० प्रतिशत भन्सार महसुल तिरेर तेस्रो मुलुकबाट कच्चा पाम आयल भित्र्याउँछन् ।

प्रशोधन गरिएको तेलको भारत निकासीमा स्वदेशी निर्यातकर्ताले दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र ९साफ्टा० अन्तर्गत शून्य भन्सारको सहुलियत पाउँछन् । यो महसुल अन्तरकै कारण स्वदेशी उद्योगले ठूलो परिमाणमा पाम तेल निकासी गरेका थिए ।

भारततर्फ खाने तेल निकासी गर्ने १२ ओटा उद्योग बारा–पर्सा कोरिडोरमा र सातओटा विराटनगर क्षेत्रमा छन् । विगत दुईओटा आर्थिक वर्षदेखि निर्यात व्यापारमा मुख्य योगदान खाने तेलकै रहेको सरकारी तथ्यांकले देखाउँछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button