स्वास्थ्य/जिवनशैली

ओमिक्रोन बीए फाइभ ओमिक्रोन बीए फाइभको जोखिम नेपालमा कति छ ?

युरोप र अफ्रिकामा फैलिएको कोरोनाभाइरसको ओमिक्रोन बीए फाइभ उपप्रजाति नेपालमा पनि पुष्टि भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले भने, “असार १५ गते कोभिड पुष्टि भएका व्यक्तिको जीन सीक्वेन्सिङ गर्दा १७ गते बीए फाइभ भेटिएको हो। यो नयाँ भेरिअन्ट होइन, ओमिक्रोन भेरिअन्टकै एउटा उपप्रजाति हो र सर्ने तरिका पनि उही नै हो।”

बीए फोर र बीए फाइभ भेरिअन्टका दुई नयाँ उपप्रजातिहरूका कारण कोरोनाभाइरस सङ्क्रमण दर विश्वभर पुनः बढिरहेको छ।

ओमिक्रोन भेरिअन्टको नयाँ उपप्रजातिबाट सङ्क्रमण पुष्टि भएकै साता नेपालमा ३४९ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यो उपप्रजातिहरूलाई मार्च महिनामा निगरानीको सूचीमा थपेको हो र युरोपमा यो ‘चिन्ताजनक भेरिअन्ट’को सूचीमा छ।

प्रारम्भिक अध्ययनहरूमा कम घातक भनिए पनि छिटो फैलन सक्ने देखिएकाले जोखिम समूहमा रहेका व्यक्तिहरूले सतर्कता अपनाउनुपर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए।

ओमिक्रोन भेरिअन्ट कोरोनाभाइरसका अघिल्ला उत्परिवर्तनहरूभन्दा कम घातक देखिएको प्रारम्भिक विवरणहरू आए पनि यसबारे विस्तृत अध्ययन नभएको विज्ञहरूले बताएका छन्।

पछिल्लो समय पहिचान भएका बीए फोर र बीए फाइभ उपप्रजाति नेपालमा सबैभन्दा बढी क्षति पुर्‍याएका डेल्टा भेरिअन्ट जस्तो घातक नभएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजकसमेत रहेका पुनले बताए।

“यसअघि जस्तो डराउनुपर्ने अवस्था छैन। एकदमै घातक हुन्थ्यो भने यसले युरोप र अमेरिकामा ठूलो क्षति पुर्‍याइ सकेको हुने थियो,” पुन भन्छन्।

“तर दुई मात्रामा खोप लगाएको छ, छैन। बुस्टर लगाएको छ, छैन। दीर्घ रोगी र जोखिम बढी हुने उमेर समूहका व्यक्तिहरूले सतर्कता अपनाउनुपर्छ।”

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button