अग्रज उद्यमीको सम्झनामा ७ सालको क्रान्ति, दीपावलीमा कांग्रेसले गरेको त्यो सशस्त्र आक्रमण
२००७ सालको क्रान्ति वीरगञ्जबाट शुरू भएको थियो । अहिलेका अग्रज उद्यमी एवम् प्रतिष्ठित औद्योगिक व्यावसायिक समूहका अध्यक्ष बाबुलाल चाचान त्यतिबेला वीरगञ्जको त्रिजुद्ध स्कूलमा ९ कक्षामा पढ्थे । त्यसबेला दीपावलीमा वीरगञ्जमा खुलेआम जुवा (कौडा) चल्थ्यो । किशोर वयका बाबुलाल त्यसताका चाख मानेरै जुवाको रामाइलो हेर्थे ।
सरकारले नै झ्याली पिटेर ५ दिनसम्म कौडा खेल्न सूचना जारी गर्थ्यो । वीरगञ्जको आदर्शनगरदेखि माइस्थानसम्म फुटपाथमा टेन्ट राखेर कौडाको खाल जमिरहेको हुन्थ्यो ।
‘दीपावलीको दिन भारतबाट विमान आएर राणाविरोधी पर्चा छरेर गयो । त्यसको भोलिपल्ट बिहानै ४ बजे कांग्रेसले वीरगञ्जमा सशस्त्र आक्रमण गर्यो,’ बाबुलाल सम्झिन्छन्, ‘वीरगञ्जका तत्कालीन बडाहाकिम सोम शमशेरका अंगरक्षकले चलाएको गोली लागेर क्रान्तिका कमान्डर थिरबम मल्लको मृत्यु भयो । त्यसपछि तेजबहादुर अमात्य कमान्डर भएका थिए । त्यसको १र२ दिनमा विराटनगर पनि कांग्रेसले कब्जा गर्यो भन्ने सुनियो ।’
कांग्रेसले बडाहाकिम र श्रीपुरस्थित सेनाको ब्यारेक पनि कब्जामा लिए । वीरगञ्ज विद्रोहीको कब्जामा परेको थाहा पाएपछि काठमाडौंबाट सरकारी सेना आए ।
परवानीपुरको नदीपारि सरकारी सेना र कांग्रेसका सेना यता भए । १० दिनसम्म लडाइँ भएपछि कांग्रेसहरू पछि हटे । सरकारी सेनाले वीरगञ्जलाई पुनः नियन्त्रणमा लियो ।
त्यतिबेला राणाका सेनाले वीरगञ्जका सबै मानिसलाई मार्ने हल्ला चलाइएको थियो । त्यो डरले बाबुलालका हजुरबुबा र बुबामात्रै वीरगञ्जमा बसेर अरू परिवार भारतको सुगौलीस्थित आफन्तको घरमा गएर बसेका थिए ।
अवस्थामा समान्य भएपछि उनीहरु वीरगञ्ज फर्किए २००७ सालमा प्रजातन्त्र घोषणा भएपछि कांग्रेसका नेता बीपी कोइराला वीरगञ्ज आएका थिए । वीरगञ्जको त्रिजुद्ध स्कूलमा बीपीको भव्य स्वागत गरिएको बाबुलाल सम्झिन्छन् ।



