क्याल निवासमा ओली, वीरगञ्जको राजनीतिक वृत्त तरंगित

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वीरगञ्जका वरिष्ठ उद्योगपति सत्यनारायण क्यालको निवासमा पुगेर चियापान गरेपछि यतिबेला वीरगञ्जको राजनीतिक वृत्त तरंगित भएको छ ।
वीरगञ्जका मेयर विजयकुमार सरावगीलाई पार्टीमा भित्र्याउन वीरगञ्ज आएका ओली उद्योगपति क्यालको आदर्शनगरस्थित घरमा पुगेका हुन् । ओलीको साथ लागेर नवप्रवेशी सरावगी, नेता रघुबीर महासेठलगायतका ५० भन्दा बढी नेता कार्यकर्ता पनि पुगेका थिए ।

निकै व्यस्त कार्यक्रम सेड्युलका बाबजुद पनि केपी ओलीले आफ्नो निवासमा पुगेर आधा घण्टा समय बिताएको उद्योगी सत्यनारायण क्यालले बताए ।
‘उहाँको वीरगञ्ज आउने पूर्वनिर्धारत कार्यक्रम थियो । त्यही कार्यक्रमका बीच उहाँ मेरो घरमा आउनुभएपछि मैले स्वागत गरेँ,’ क्यालले भने, ‘उहाँ जस्तो देशको शीर्ष नेतालाई स्वागत गर्न पाउनु मेरो लागि अत्यन्तै खुशीको कुरा हो ।’
मधेस प्रदेश सकारका सल्लाहकारसमेत रहेका क्यालले सबै राजनीति दलका नेताहरुसित आफ्नो सुमधुर सम्बन्ध रहेको बताए । देशका शीर्ष नेताको यो आगमनलाई नेतृत्वले उद्यमी व्यापारीलाई दिएको सम्मानको रुपमा वीरगञ्जका बासिन्दाले बुझेका छन् ।
नेता ओलीसँग उद्योगी क्यालको लामो समयदेखि निकट सम्बन्ध छ । आसन्न चुनावको पूर्वसन्ध्यामा ओलीले उद्योगी क्यालको निवासमा पुगेर पारिवारिक भलाकुसारी गर्नुलाई राजनीति वृत्तमा निकै चासोको साथ हेरिएको छ ।



