प्रदेशयस्तो पनि

यस्तो छ नेपालमै बहुपति प्रथा : चार दाजुभाईकी एउटी पत्नी

तिब्बतको फ्याङ तुङगारबाट हुम्ला आएको बताउने चम्फासिंह लामाको परिवारमा १७ पुस्तासम्म बहुपति प्रथा चल्यो।

तर अहिले उनका छोरानातिको पालादेखि भने यो चलन हटेको चम्फासिंहले बताए। उनले भने, हामी चार दाजुभाइले एउटै पत्नी अपनायौँ। हाम्रा छोराहरूले मानेनन्। सबैले आआफैले विवाह गरे। सबै छुट्टिएर बसेका छन्।

चार दाजुभाइकी एक्ली पत्नी छोडोल्माले चार छोरा र पाँच छोरीलाई जन्म दिएकी थिइन्। उनीहरूमध्ये कान्छा छोराबाहेक सबै छोराछोरीको विवाह भइसकेको छ।

करिब दुई दशक अघिसम्म लामा समुदायमा घरघरै रहेको भनिएको बहुपति प्रथा पछिल्लो समय केही परिवारमा मात्रै सीमित हुन पुगेको लामा समुदायका अगुवाहरू बताउँछन्।

युवा पुस्ता शिक्षित भएपछि उनीहरूले यो चलन छाड्दै गएका छन्, सिमकोट बुरौँसेका राप्दान लामा भन्छन्, पहिले अशिक्षित हुँदा धेरैको त्यस्तै थियो। अहिले सबै जना शिक्षित भए। त्यसैले बहुपतिको चलन पनि हट्दैछ।

काठमाडौँमा बसेर स्नातकोत्तर अध्ययन गरिरहेका युवा सांगे तंजन लामा समय परिस्थितिले नै बहुपति प्रथाको संस्कारमा परिवर्तन ल्याएको बताउँछन्। उनले भने, शिक्षाले धेरै कुरा सिकायो । यो संस्कारलाई कैयौँले नराम्रो रूपमा लिएको पाइयो।

बहुपति प्रथामा भएका जटिलता र व्यक्तिगत स्वतन्त्रताले गर्दा पनि युवा पिँढीले यो संस्कारलाई निरन्तरता दिन नसकेको बताइन्छ। बहुपति प्रथामा जुन भाइले पहिला विवाह गर्छ अरू दाइ भाइले पनि उनैलाई श्रीमती स्विकार्नुपर्छ।

तर कान्छो वा अरु भाइको उमेर ८-१० वर्ष वा त्योभन्दा बढी फरक भएमा उनीहरूलाई एकल विवाह गर्ने छुट छ। लामा समुदायमा प्रायजसो जेठो भाइले मागेर वा मन पराएर विवाह गर्ने र अरू भाइले उनैलाई श्रीमती स्विकार्ने चलन रहँदै आएको थियो।

तर केही बर्ष यता भने शिक्षा र चेतनाको विकाससँगै एउटै श्रीमती हुँदा दाजु(भाइबीच हुने मनमुटाव र झगडाले गर्दा पनि यो चलन हट्दै गएको लामा समुदायका अगुवाहरू दाबी गर्छन्।

पहिला धेरै भेडा बाख्रा, च्याङ्ग्रा, चौँरी पाल्ने र व्यापार व्यवसायको लागि भोट-मधेस गर्ने चलन थियो। त्यो बेला एउटा भाइ व्यापारमा, अर्को भेडी गोठमा, कोही कतै कोही कतै हुने भएकोले एउटै श्रीमती विवाह गरे पनि दाजुभाइहरू सधैँ सँगै बस्न पाउँदैनथे।

फरक-फरक ठाउँमा बस्ने भएकोले घरमा पालोअनुसार आउने गर्थेू, ८० बर्से चम्फासिं लामा भन्छन्, अहिले पशुपालन र व्यापार व्यवसाय गर्न बाहिर जानुपर्दैन। सबै दाजुभाइ सँगै बस्दा मनमुटाव हुने भएकोले पनि अहिले धेरै युवाहरूले बहुपति प्रथा त्यागेर एकल विवाह गर्न थालेको बताइन्छ।

लामा समुदायमा चिन्डोमा छ्याङ (जाँडको झोल) लिएर केटी माग्न जाने चलन छ। चिन्डोबाहेक अन्य भाँडामा छ्याङ लिएर केटी माग्न गए कम मान्यता हुने राप्दान लामा बताउँछन्।

छोरी दिन्छन् भन्ने पूर्ण विश्वास भएका घरमा मात्रै केटा पक्ष केटी माग्न जान्छन्, उनी भन्छन्, तर कहिलेकाहीँ विश्वास गरेकै घरले छोरी दिँदैनन् ।

बहुपति झेलेका महिलाहरूको स्वास्थ्यमा स्वास्थ्यमा समस्या आउने र भाइहरूबीचको झगडाले कहिलेकाहीँ पीडा खेप्नु परेको बताइन्छ। बहुपति प्रथामा महिलाले जस्तै पुरुषहरूले पनि विभिन्न समस्या खेप्ने गरेको उनीहरू बताउँछन्।

मन परेको भाइसँग श्रीमती बस्दा अरू भाइहरूले बुढेसकालमा दुख पाउने गर्छन्। बहुपति प्रथामा घरको मुली श्रीमती हुने र उनले नै श्रीमान्‌हरूलाई काममा खटाउने गर्छिन्।

सन्तानहरू जुन दाजुभाइको भए पनि नागरिकतामा भने बाबुको रूपमा जेठो भाइको मात्र नाम राख्ने चलन छ। लामा समुदायका अगुवाहरू चलअचल सम्पत्ति बाँड्नु नपर्ने, कामको बोझ कम हुने भएकोले पूर्वजहरूले बहुपति प्रथा अपनाएको दाबी गर्छन्।

हुम्ला जिल्लाको नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाको बुरौंसे, तोर्पा, लिमाटाङ, बरगाउँ, रिमी, दोजाम लगायतका गाउँमा बहुपति प्रथा संस्कारमा बिस्तारै कमी आइरहेको पाइन्छ । हुम्लासहित नेपालका लमजुङ, गोरखा, मुस्ताङ, मनाङ, हुम्ला, जुम्ला, डोल्पा, ताप्लेजुङ लगायतका जिल्लाका विभिन्न गाउँ बस्तीमा यो प्रथा छ। बीबीसी

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button