खबर फटाफटप्रदेश

प्रदेश १ मा कोरोना संक्रमण घट्यो, मृत्युदर भने अझै उच्च

Thrill Factory
Rungta Group

विराटनगर – पछिल्ला केही दिनयताबाट प्रदेश १ का जिल्लामा क्रमशः कोरोना संक्रमण दर घटेको छ । प्रदेशका ६ जिल्लामा कोरोना संक्रमितको संख्या १० भन्दा कममा झरेको छ ।

तर संक्रमणको दर घटे पनि मृत्युदर भने अहिले पनि उच्च दरमा नै देखिएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका १४ जिल्ला मध्ये पहाडी तथा हिमाली जिल्लाहरु खोटाङ, सोलुखुम्बु, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ र ओखलढुंगामा संक्रमणको दर १० भन्दा तल झरेको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार खोटाङमा ६ जना, सोलुखुम्बुमा १ जना, संखुवासभामा १ जना, तेह्रथुममा पाँच जना, ताप्लेजुङमा ४ जना र ओखलढुंगा संक्रमणमुक्त जिल्ला रहेको छ ।

पहाडी जिल्लामा संक्रमणको दर घटे पनि तराईका जिल्लाहरु सुनसरी, मोरङ र झापामा संक्रमणको दर यथावत् रुपमा रहँदै आएको छ ।
मन्त्रालयका जनस्वास्थ्य अधिकृत ओमकुकारी राजवंशीले पहाडी जिल्लामा पछिल्ला एक हप्तादेखि संक्रमणको दर ओरालो झरे पनि बाक्लो बस्ती रहेको तराईका जिल्लामा भने संक्रमणको दर यथावत् हुँदा संक्रमणको जोखिम टरी नसकेको बताइन् ।

उनले अहिले पनि कोरोना बिशेष अस्पतालमा संक्रमितहरु उपचारका लागि भर्ना हुने क्रम बढिरहेको एकातर्फको अबस्था र अर्को तिर संक्रमितहरुको मृत्युदर अहिले पनि दैनिक करिब १० जनाको हाराहारीमा कायम रहेकाले संक्रमणको जोखिम उत्तिकै रहेको बताइन् ।

जनस्वास्थ्य अधिकृत राजवंशीका अनुसार अहिले तराईका तिन जिल्ला मध्ये सबै भन्दा बढी झापामा १ हजार ८४९ जना संक्रमित रहेका छन् । त्यसपछि मोरङमा १ हजार ६४० र सुनसरीमा १ हजार ३७ जना संक्रमित रहेका छन् ।

अन्य, बाँकी जिल्लामा पाँच जिल्ला उदयपुर,भोजपुर,इलाम,पाँचथर,र धनकुटामा १ हजार ५ सय मुनिको संख्यामा संक्रमित रहेका छन् ।

प्रदेशका विभिन्न सरकारी तथा नीजि स्तरमा सञ्चालित ३१ कोभिड अस्पतालमा ३ सय ८६ जना उपचाररत छन् । जसमा भेन्टिलेटरमा ४० जना आइसियुमा ९६ जना,आइसोलेशन बेडमा ३७ जना एचडियुमा १ सय ७३ र जेनेरल बेडमा ८९० जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । त्यसबाहेक होम आइसोलेसन र संस्थागत आइसोलेसनमा ८९ जना रहेका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा कुल सक्रिय संक्रमित ४ हजार ७७८ जना रहेको छ ।

प्रदेश १ मा कोरोना संक्रमणको दर घटेको देखिएपनि मृत्युदर भने उच्च नै देखिन्छ। यस प्रदेशमा अहिले पनि संक्रमितका कारण दैनिक पाँच जना माथिको संख्यामा मृत्युदर रहेको छ । यो संख्या कहिलेकाही १० जनासम्म पुग्ने गरेको छ। प्रदेशमा कोरोना संक्रमणबाट अहिलेसम्म १ हजार ७५१ जनाको मृत्यु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button