अर्थमुख्य खबर

भाउ घट्ने सूचना चुहिएपछि सीमावर्ती जिल्लामा पेट्रोल–डिजेल अभाव, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा पेट्रोल पम्प अनुगमन

मंगलबार मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घट्ने सूचना बाहिरिएपछि सीमावर्ती बारा र पर्सा जिल्लामा बुधबार दिनभरि पेट्रोल र डिजेलको अभाव देखिएको छ। मूल्य घट्ने अनुमानका कारण स्थानीय पेट्रोल पम्प सञ्चालकहरूले नेपाल आयल निगमबाट नयाँ आपूर्ति नउठाउँदा इन्धन संकट सिर्जना भएको हो।

पेट्रोल पम्पहरूले बिक्री नै रोकेपछि सर्वसाधारणले सास्ती बेहोर्नुपरेको गुनासो बढेपछि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा एक दर्जनभन्दा बढी पेट्रोल पम्पमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा अधिकांश पम्पले पेट्रोल बिक्री बन्द गरेको भेटिएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए।

उनका अनुसार मूल्य घट्ने सूचना चुहिएपछि धेरै पम्प सञ्चालकले घाटा हुन नदिन आयल निगमबाट इन्धन खरिद नगरेका कारण अभाव भएको हो। “उपभोक्तालाई अनावश्यक सास्ती दिने उद्देश्यले खरिद रोकेका पेट्रोल पम्पमाथि कारबाही गर्न नेपाल आयल निगमलाई निर्देशन दिइएको छ,” उनले भने।

बुधबार अधिकांश पेट्रोल पम्पमा ‘पेट्रोल छैन’ लेखिएका सूचना टाँसिएका थिए भने केही स्थानमा डिजेलसमेत बिक्री गरिएको थिएन। मूल्य समायोजनको सूचना सार्वजनिक भएपछि व्यवसायीहरूले अमलेखगञ्ज डिपोबाट इन्धन माग नगर्दा आपूर्ति प्रभावित भएको बताइएको छ।

उता बारा जिल्लामा पनि अधिकांश पेट्रोल पम्पले बिक्री रोकेका छन्। त्यहाँ पनि स्थानीय प्रशासनले अनुगमन सुरु गरेको जनाएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button