खनाल स्मृति प्रतिष्ठानद्वारा २१ उत्कृष्ट विद्यार्थी सम्मानित

शैक्षिक शहीद मुकुन्दप्रसाद खनाल स्मृति प्रतिष्ठानद्वारा माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नियमित परीक्षामा वीरगंज महानगरपालिका अन्तर्गतका सामुदायिक माध्यमिक विद्यालयहरूबाट सर्वोत्कृष्ट जिपिए हासिल गर्ने २१ जना छात्रछात्रालाई शनिवार सम्मान गरिएको छ ।वीरगंज पब्लिक कलेजको सभाहलमा प्रतिष्ठानकी अध्यक्ष मुना खनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको वीरगंज महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले उद्घाटन गरेका थिए ।
प्रमुख अतिथि लामिछानेले सामुदायिक विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट नतीजा हासिल गरेर शिक्षा क्षेत्रमा नयाँ आशा जगाएको बताए । उनले प्राप्त सम्मानलाई प्रेरणाका रूपमा लिएर आगामी अध्ययनमा अझ उत्कृष्ट प्रदर्शन गर्न विद्यार्थीहरूलाई सुझाए । शिक्षा नै समाज रूपान्तरणको प्रमुख आधार भएको उल्लेख गर्दै उनले मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अघि बढेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्न सकिने विश्वास व्यक्त गरे ।
उनले विद्यार्थीहरूको प्रतिभा र उपलब्धिलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमले प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउने बताए । महानगरपालिकाले गुणस्तरीय शिक्षाको विकास र विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा यस्ता रचनात्मक गतिविधिमा सहकार्य गर्न महानगरपालिका सदैव तयार रहेको बताए ।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्रकाश उपाध्याय, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरी, वरिष्ठ उपाध्यक्ष सुशीला साह, लायन्स क्लबका रामबिहारी पाण्डे, मानवसेवा आश्रमका देवेश गुप्ता, ज्ञानदा एकेडेमीका सिइओ राजेन्द्र कोइरालालगायतको सहभागिता थियो ।
सम्मानित विद्यार्थीहरू किरणकुमारी साह, रोशनीकुमारी डोमिन, रागिनीकुमारी कानु, साहिल मियाँ, समीरकुमार कर्ण, अनुज्ञा श्रीवास्तव, सपना सोनार, निशा पटेल, अनिशा पण्डित, सुजाता कुशवाहा, अब्दुल अजिज, किरणकुमारी पटेल, सुरज कुमार, अङ्किता कुमारी, कुमकुमकुमारी कुशवाहा, विद्या कुमारी, पूजाकुमारी पटेल, राजकरण ठाकुर लोहार, अञ्जली कुमारी, सादिया खातुन, महम्मद उमर फारूख र सन्दर्भ मालीलाई जनही रु १,५०० नगद, सम्मानपत्र दिई खादा तथा टीका लगाइ सम्मान गरिएको थियो ।
कार्यक्रमका संयोजक प्रभु रौनियारले विद्यार्थीहरूको मनोबल उच्च राख्न तथा शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्न प्रतिष्ठानले हरेक वर्ष सम्मान कार्यक्रम गर्दै आएको बताए



