राजमार्गमा अवैध असुली, सांसदद्वारा प्रशासनको ध्यानाकर्षण

राजमार्गमा अवैध असुली भइरहेको भन्दै पर्साका सांसदले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन्। वीरगञ्ज क्षेत्रमा स्थानीय तहका नाममा गैरकानूनी रूपमा कर तथा शुल्क असुल्न ढाट खडा गरिएको गुनासो बढ्दै गएको छ।
मुख्य नाकाबाट भित्रिएका तयारी मालसामान र औद्योगिक कच्चा पदार्थ बोकेका सवारीसाधनबाट ठेकेदारमार्फत रकम असुली भइरहेको भन्दै व्यापारीहरूले विरोध जनाउँदै आएका छन्। यसै विषयमा सांसद हरि पन्तले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई अवगत गराउँदै तत्काल यस्तो असुली रोक्न आग्रह गरेका छन्।
केही दिनअघि अर्थमन्त्री स्वर्णिम वाग्ले वीरगञ्ज आएका बेला उद्योगी–व्यवसायीहरूले पनि राजमार्गमा भइरहेको कर आतंक अन्त्य गर्न माग गरेका थिए। अर्थ तथा गृह मन्त्रालयले राजमार्गमा अवैध रूपमा ढाट राखी राजस्व उठाउन नपाइने स्पष्ट निर्देशन दिए पनि कार्यान्वयन प्रभावकारी हुन सकेको छैन।
वीरगञ्ज उद्योग वाणिज्य संघका अनुसार केन्द्रबाट पटक–पटक निर्देशन आए पनि एकीकृत जाँच चौकीबाट निस्किने मालवाहक ट्रकहरूबाट अवैध असुली रोकिएको छैन। सांसद पन्तका अनुसार यस्ता ढाट दिनमा बन्द राखेर राति पुनः सञ्चालन गर्ने गरिएको पाइएको छ।
उनले भन्सारबाट छुटेका सवारीसाधनबाट विभिन्न स्थानमा उठाइने रकम कुनै पनि संघीय कानुनले मान्यता नदिएको र स्थानीय तहलाई यस्तो कर लगाउने अधिकार नभएको स्पष्ट पारेका छन्।
व्यवसायीहरूका अनुसार वीरगञ्ज महानगरपालिका र जीतपुर–सिमरा उपमहानगरपालिकासँग सम्बन्धित ठेकेदारहरूले ट्रकबाट ५ सयदेखि १ हजार रुपैयाँसम्म जबर्जस्ती असुली गर्दै आएका छन्, जसका कारण ढुवानी लागत बढेको गुनासो गरिएको छ।



