देशमुख्य खबर

भारतका प्रधानमन्त्री मोदीको नेपाललाई पूर्ण सहयोगको प्रतिबद्धता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारका प्राथमिकता पूरा गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्रीमा नियुक्त भइसकेकी सुशीला कार्कीसँग बिहीबार भएको पहिलो टेलिफोन संवादमा मोदीले यो आश्वासन दिएका हुन्।

नेपालको परराष्ट्र मन्त्रालयका अनुसार कार्कीले निर्वाचन सम्पन्न गर्ने, युवाको आकांक्षाअनुरूप उत्तरदायी र भ्रष्टाचारमुक्त शासन स्थापना गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकता रहेको जानकारी दिएकी थिइन्। “भारतीय प्रधानमन्त्रीले नेपाल सरकारका प्राथमिकताअनुसार पूर्ण सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

संवादका क्रममा प्रधानमन्त्री कार्कीले मोदीलाई जन्मदिनको शुभकामना दिएकी थिइन् भने मोदीले कार्कीलाई नेपालको पहिलो महिला प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएका थिए। मोदीको जन्मदिन बुधबार परेको थियो।

मोदीले हालै नेपालमा जेन जी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शान्ति र स्थिरता कायम गर्न भारतको दृढ समर्थन रहने प्रतिवद्धता दोहोर्याएको ‘एक्स’ (पूर्व ट्विटर) मा लेखेका छन्।

यसै अवसरमा मोदीले नेपाललाई शुक्रबार मनाइने राष्ट्रिय दिवसको अग्रिम शुभकामना पनि दिएका छन्। “राष्ट्रिय दिवसमा प्रधानमन्त्री कार्की र नेपाली जनतालाई हार्दिक शुभकामना व्यक्त गरेको छु,” मोदीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

नेपालले संविधानसभाबाट संविधान जारी भएको दिनलाई प्रत्येक वर्ष राष्ट्रिय दिवसको रूपमा मनाउँदै आएको छ। यही अवसरमा दुवै प्रधानमन्त्रीहरूले दुई देशका जनताको हितमा द्विपक्षीय सहकार्य र साझेदारीलाई निरन्तर सुदृढ पार्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button