
मधेश प्रदेशमा स्याहार–हेरचाह सेवालाई औपचारिकता दिने उद्देश्यसहित ‘मधेश प्रदेशमा हेरचाह सेवा केन्द्रको आवश्यकता र अवसरहरूको नक्सांकन र पहिचान’ विषयक प्रदेशस्तरीय कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ केन्द्र र महासंघ मधेश प्रदेशद्वारा संयुक्त रूपमा सञ्चालित ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमअन्तर्गत आयोजित यस छलफलमा तृपक्षीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले हेरचाह क्षेत्रलाई सहयोग पुर्याउने नीति महानगरले तयार पारेको बताए। उनले महिला तथा युवामा स्थानीय माटोप्रतिको अपनत्वबोध बढाउने कार्यक्रमहरूको आवश्यकता रहेकोमा जोड दिँदै, लक्षित समूहका लागि प्रस्तुतिहरूलाई नीतिगत रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको उल्लेख गरे।
राष्ट्रिय योजना आयोग अन्तर्गतको राष्ट्रिय स्याहार कार्यसमूहकी सदस्य रोशनीदेवी कार्कीले अनौपचारिक स्याहार कार्यलाई सामाजिक रूपान्तरणसँगै आर्थिक सशक्तिकरणको आधार बनाउनुपर्ने बताइन्। उनले हेरचाह सेवाको आर्थिक मूल्याङ्कनका लागि सबै क्षेत्रबाट अनुगमन र नियमनको आवश्यकता रहेकोमा जोड दिइन्।
सहभागीहरूले मधेशको आर्थिक पुनरुत्थानका लागि समुदाय, प्रतिष्ठान र परिवारस्तरमा स्याहार सेवाको पहुँच सुनिश्चित गर्नुपर्ने धारणा राखे। घरपरिवारमा महिलाले स्याहार कार्यमा समय खर्च गर्दा उनीहरूको आर्थिक सहभागिता कमजोर हुने र यसले देशको समग्र समृद्धिमा अवरोध पुर्याउने भएकाले श्रम बजारमा महिलाको सक्रियता बढाउन स्याहार सेवाको सहज पहुँच अपरिहार्य हुने उनीहरूको भनाइ थियो।
स्याहार सेवा केन्द्रलाई सामाजिक तथा आर्थिक पूर्वाधारको रूपमा विकास गर्दै दीर्घकालीन सञ्चालनमा निजी क्षेत्रको संलग्नता आवश्यक रहेको निष्कर्षसमेत छलफलमा निकालिएको थियो।
कार्यक्रममा अर्जुन खरेल र कृपा बस्न्यातले स्याहार नक्सांकन र आवश्यकताबारे अध्ययनपत्र प्रस्तुत गरे भने झल कुमारी कार्कीले प्रतिष्ठानस्तरमा स्याहार आवश्यकताबारे सुझाव संकलन गरिन्।
सहभागीहरूलाई स्वागत महासंघका सहायक निर्देशक हरि पौडेलले गरेका थिए। सहजीकरण महासंघ मधेश प्रदेशका कार्यक्रम संयोजक बसुदेव लाल कर्णले गरे भने कार्यक्रम महासंघका प्रदेश कोषाध्यक्ष पण्डित प्रसाद जैसवालको अध्यक्षतामा सम्पन्न भएको थियो।



