No Image Headlineअर्थमुख्य खबर

मुख्य शहरमा ‘पतञ्जलि’जस्तै देखिने ‘पत्तिजलि’ बिक्री, उपभोक्ता ठगिँदा विभाग उदासीन

काठमाडौंलगायत देशका प्रमुख शहरमा ‘पतञ्जलि’ ब्रान्डसँग हुबहुँ मिल्दोजुल्दो ‘पत्तिजलि’ नामक डिटरर्जेन्ट पाउडर र भाँडा धुने साबुन खुलेआम बिक्री भइरहेको पाइएको छ। यस्ता नक्कली उत्पादनका कारण उपभोक्ता ठगिँदा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी दिने क्रम बढेको छ।

तर, उपभोक्ता ठगिँदा उपभोक्ताको हित संरक्षणका लागि बनाइएका सरकारी विभागहरुको कारवाही भने फितलो देखिएको छ । कानूनी व्यवस्थाको छिद्र दुरुपयोग गर्दै यस्तो ठगीको प्रवृत्ति बढ्दै गएको भन्दै विभागीय अधिकारीहरुले लाचारी प्रकट गर्दै आएका छन् ।

नागार्जुन नगरपालिका–३ का शंकर पौडेलले ‘पतञ्जलि’ ब्रान्डको भाँडा धुने साबुन र डिटरर्जेन्ट पाउडर किनेका थिए। तर, खरिदपश्चात् ती सामान पतञ्जलिजस्तै देखिने भए पनि अर्को नाममा बजारमा आएको नक्कली उत्पादन भएको पत्ता लागेपछि उनले साउन १२ गते विभागमा उजुरी दिएका थिए।

सुनसरीको चौटरी इन्डस्ट्रिजबाट उत्पादन भएको दाबी गरिएको ‘पत्तिजलि’ डिटरर्जेन्ट पाउडर पतञ्जलि र सुपर डिशवाशको हुबहुँ प्रतिलिपि रहेको र एउटै उत्पादनमा फरक–फरक खुद्रा मूल्य तोकिएको समेत भेटिएको विभागको भनाइ छ।

त्यस्तै, साउन ११ गते सूर्यविनायक नगरपालिकाकी कुसुम लामाले पनि पतञ्जलिका डिशवाश र डिटरर्जेन्ट पाउडर हुबहुँ कपी गरी उत्पादन गरिएका वस्तुको बिक्री रोक्न माग गर्दै विभागमा उजुरी दिएकी थिइन्।

अनुगमनका क्रममा विभागले काठमाडौं उपत्यकाका धेरै खुद्रा पसलमा पतञ्जलिजस्तै देखिने नक्कली उत्पादन फेला पारेको जनाएको छ।

यद्यपि, विभागका महानिर्देशक कुमारप्रसाद दहालले सबै प्रक्रिया पूरा गरी बिक्रीमा आएको वस्तुलाई सिधै अवैध भन्न नमिल्ने बताएका छन्। “हाम्रो बजारमा यस्ता हुबहुँ कपी गरिएका ब्रान्डहरू छन्, उजुरी पनि आइरहेका हुन्छन्।

तर, यो उद्योग विभागको अधिकारक्षेत्रमा पर्ने विषय भएकाले हामी उपभोक्ता पक्षबाट मात्रै कारबाही गर्छौं’ उनले भने। दहालका अनुसार विभागले यस्ता मुद्दा उद्योग विभागमा फाइलसहित पठाउने गरेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button