पर्सा जिल्ला अदालतमा ७ हजार २४४ मुद्दा फछ्र्यौट, न्यायाधीश घिमिरे सम्मानित

पर्सा जिल्ला अदालतले आर्थिक वर्ष २०८१/८२ मा कुल १२ हजार ६३५ मुद्दामध्ये ७ हजार २४४ मुद्दा टुंगो लगाएको छ । जसको दर ५७ प्रतिशतभन्दा बढी हो।
यो प्रगति पछिल्ला पाँच वर्षकै सबैभन्दा उच्च दर भएको अदालतले जनाएको छ। न्याय प्रणालीलाई छरितो र प्रभावकारी बनाउन हालै पञ्चवर्षीय रणनीति लागू गरिएको पनि कार्यक्रममा जानकारी दिइयो। न्यायाधीश नन्दकिशोरप्रसाद यादवले यस रणनीतिअन्तर्गत २०८६ सालसम्म स्थानीय तहका कर्मचारी, सञ्चारकर्मी, विद्यालय तथा नागरिक समाजसँग अन्तरक्रिया गर्दै जनगुनासो समाधान गर्ने योजना रहेको उनले उल्लेख गरे।
पर्सा जिल्ला अदालतले आर्थिक वर्ष २०८१/८२ मा फैसला कार्यान्वयनका क्रममा ७ करोड ६४ लाख रुपैयाँ जरीवाना फछ्र्यौट गरेको छ। आइतबार अदालतमा आयोजित वार्षिक कार्ययोजना सार्वजनिक कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो।
अदालतका अनुसार, सो अवधिमा तोकिएको कुल १ अर्ब ३१ करोड ७९ लाख रुपैयाँ जरीवानामध्ये १ अर्ब २४ करोड १४ लाख रुपैयाँ अझै फछ्र्यौट हुन बाँकी छ। मुख्य जिल्ला न्यायाधीश दीपक खनालले पर्सा सीमाक्षेत्रमा पर्ने भएकाले जरीवाना तोकिएका केही व्यक्तिहरू सीमापारि गएर बस्ने गरेकाले फछ्र्यौटमा कठिनाइ भएको बताए। उनका अनुसार, पछिल्ला वर्षहरूमा बैंकिङ कसुरका मुद्दा बढेकाले जरीवानाको आकार पनि उल्लेख्य रूपमा बढेको छ। अदालतको विवरणअनुसार यस्ता मात्र करिब ५०० मुद्दा दर्ता छन्।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले न्यायालयप्रति अझै जनगुनासो कायम रहेको भन्दै सुधारका लागि सबै सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको टिप्पणी गरे।
न्यायाधीश सम्मान
सोही कार्यक्रममा सबैभन्दा बढी मुद्दा फछ्र्यौट गर्ने न्यायाधीश माधवप्रसाद घिमिरेलाई सम्मान गरिएको छ। मुख्य जिल्ला न्यायाधीश खनालले उनलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

न्यायाधीश घिमिरेले गत वर्ष ९८३ मुद्दाको फैसला गरेका थिए। पर्सा जिल्ला अदालतले यस वर्ष ६६ प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेको छ।



