
वीरगन्जबाट प्रकाशन हुने मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आफ्नो १०औं वार्षिकोत्सवको अवसरमा तीन जना पत्रकारलाई सम्मानित गर्ने भएको छ।
पत्रिकाका प्रकाशक मध्य नेपाल मिडिया सञ्चालक समितिको बुधबार बसेको बैठकले मधेसमा क्रियाशील पत्रकारहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।
पत्रिकाले यस वर्ष ‘उत्कृष्ट महिला पत्रकारिता पुरस्कार’ र ‘स्तम्भकार पुरस्कार’ प्रदान गर्ने भएको छ। जनकपुरकी पत्रकार मनिका झालाई उत्कृष्ट महिला पत्रकारिता पुरस्कार प्रदान गरिने सम्पादक कविता खड्काले जानकारी दिइन्।
झा विगत लामो समयदेखि मधेसमा रहेर महिलासँग सम्बन्धित मुद्दा तथा सामाजिक विषयवस्तुमा प्रभावकारी ढंगले पत्रकारिता गरिरहेकी छिन्। हाल उनी अन्नपूर्ण पोस्ट दैनिकमा मधेस ब्यूरो प्रमुखको रूपमा कार्यरत छिन्। उनलाई रु १५,००० नगद राशिसहित सम्मान गरिने छ। झा यसअघि धनुषा पत्रकार महासंघको अध्यक्षसमेत भइसकेकी छन्।
त्यस्तै, पत्रिकामा ‘खोजी जवाफदेहिताको’ स्तम्भ लेख्दै आएका शिवनाथ प्रसाद यादव र गीता भण्डारीलाई पनि स्तम्भकार पुरस्कार प्रदान गरिने छ। दुबै जना पत्रकारलाई जनही रु ११,१०० नगदसहित सम्मान गरिने निर्णय गरिएको हो। पुरस्कृत तीनै पत्रकारलाई आगामी भदौ १२ गते आयोजना हुने वार्षिकोत्सव समारोहमा सम्मानित गरिने भएको छ।



