No Image Headlineअर्थमुख्य खबरविशेष

कम वर्षाले धान उत्पादनमा प्रभाव, मधेशमा सुक्खाको चिन्ता बढ्दो

जेठ १८ गतेदेखि सुरु भएको मनसुन अहिले लगभग मध्यबिन्दुमा पुगेको छ। तर अहिलेसम्मको तथ्यांकअनुसार, देशभरि सरदर हुने वर्षाको तुलनामा यो वर्ष केही कम पानी परेको देखिएको छ। विशेष गरी मधेश प्रदेश र पूर्वी नेपालका दक्षिणी भू-भागहरूमा वर्षा निकै कम भएको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कले देखाउँछ।

विभागका अनुसार, हाल वर्षा गराउने न्यूनचापीय रेखा (मनसुन ट्रफ) विस्तारै नेपालतर्फ सरेको देखिए पनि त्यसको प्रभाव मधेश प्रदेशमा खासै देखिएको छैन। विभागका मौसमविद् डेभिड ढकालका अनुसार, “मधेशको उत्तरी भागमा केही वर्षा हुन सक्छ, तर दक्षिणी भू-भागहरूमा भारी वर्षाको सम्भावना हाल देखिँदैन।”

ढकालका अनुसार, सोमबार र मंगलबार केही स्थानमा मध्यम वर्षा भए पनि प्रणाली फेरि कमजोर हुने सम्भावना छ। यस वर्ष असोज १४ गतेसम्म मनसुन रहने अनुमान गरिए पनि साउन ११ गतेसम्म जम्मा ५५२ मिलिमिटर, अर्थात् वार्षिक सरदरको केवल ३७ प्रतिशत वर्षा मात्र भएको छ।

मधेशमा अवस्था झन् गम्भीर

जनकपुर र सिमराका मौसम केन्द्रहरूका तथ्याङ्कअनुसार, जनकपुरमा केवल २० प्रतिशत हाराहारीमा वर्षा भएको छ भने सिमरामा त्यसभन्दा केही मात्र बढी। सामान्यतः यो समयमा कम्तीमा ५० प्रतिशत वर्षा भइसक्नुपर्ने हो। लगातारको कमजोर वर्षाका कारण मधेश प्रदेशमा सुक्खा स्थिति देखिन थालेको छ।

धान उत्पादनमा असर, रोपाइँ घट्यो

कम वर्षाको प्रत्यक्ष असर कृषि क्षेत्रमा देखिन थालेको छ। विशेषतः धान उत्पादनमा यसले गम्भीर असर पार्ने चिन्ता अधिकारीहरूले व्यक्त गरेका छन्। कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार, “यो वर्ष हालसम्म रोपाइँ करिब २०–२५ प्रतिशतले कम देखिन्छ। मधेशमा त ३०–३५ प्रतिशतले नै कम भएको छ।”

गत वर्षको यही समयमा देशभर ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष ८० प्रतिशतसम्म पनि पुगेको छैन। अहिले सुदूरपश्चिममा सबैभन्दा धेरै, ९८ प्रतिशत रोपाइँ सकिएको छ भने मधेश प्रदेशमा सबैभन्दा कम, करिब ५२ प्रतिशत मात्र सकिएको देखिन्छ।

तर अधिकारीहरू अझै केही दिनभित्र राम्रो वर्षा भएमा स्थिति केही सुध्रिन सक्ने अपेक्षामा छन्। सञ्जेलका अनुसार, “साउन महिनाभर पनि मधेशमा रोपाइँ हुने चलन छ। अर्को सातासम्म राम्ररी वर्षा भयो भने स्थिति सामान्य बनाउन सकिनेछ।”

अहिलेलाई ‘पर्ख र हेर’को अवस्था

प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि सञ्जेल नेतृत्वको कार्यदलले प्रारम्भिक प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदनमा मुख्यत: कम रोपाइँ भएको क्षेत्र विस्तार गर्ने र रोपाइँ भइसकेका क्षेत्रमा बाली जोगाउने उपाय सुझाइएको छ। सञ्जेल भन्छन्, “मुख्य कुरा सिँचाइ हो। कतिपय स्थानमा नहरको सामान्य मर्मत गरे पनि हजारौं हेक्टर क्षेत्रमा पानी पुर्‍याउन सकिन्छ। विद्युत् आपूर्ति नियमित गरियो भने पनि निकै सहयोग पुग्छ।”

कम वर्षाको यकिन प्रभाव प्रक्षेपण गर्न सकिने अवस्था अहिले नपुगेको भन्दै जानकारहरू आगामी केही सातामा परिस्थिति स्पष्ट हुने बताउँछन्। यद्यपि सरकारले दुई वर्षभित्र धानमा आत्मनिर्भर हुने घोषणा गरेको लक्ष्य अहिलेको स्थितिमा चुनौतीपूर्ण देखिएको उनीहरूको धारणा छ।

सरकारले धान उत्पादनका लागि दुईवटा रणनीति अपनाउँदै गएको छ— एक, चैते धान रोपिने क्षेत्र विस्तार गर्ने; र दुई, बर्खे धानको उत्पादकत्व बढाउन सिँचाइ पूर्वाधार विस्तार र उन्नत बीउको प्रयोगमा जोड दिने।

मनसुनसँगै विपद् पनि

मनसुन सँगै बाढी, पहिरो र अन्य प्राकृतिक विपद्का घटनाहरू पनि देखिएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यो वर्ष अहिलेसम्म यस्ता घटनामा ४३ जनाको मृत्यु, १९ जना बेपत्ता र ११७ जना घाइते भएका छन्। दुई हजारभन्दा बढी घरपरिवार प्रभावित भइसकेका छन्।

प्राधिकरणका अनुसार, यस वर्ष मनसुनका कारण झण्डै २० लाख जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ। गत वर्ष मनसुनको चरम समयमा असोज १० देखि १३ गतेसम्मको अविरल वर्षाले २५० भन्दा बढीको ज्यान गएको थियो भने झण्डै ४६ अर्ब रुपैयाँको क्षति भएको थियो।

वर्षा कम हुनुका दीर्घकालीन प्रभाव कृषि, खाद्य सुरक्षा, तथा विपद् व्यवस्थापनमा गहिरिँदै गएको छ। खासगरी मधेश प्रदेशमा सिँचाइ, बीउ, मल लगायतको तयारीसँगै तत्कालिक राहत उपायमा जोड नदिए स्थिति अझ जटिल बन्ने देखिन्छ। सरकार, विज्ञ र स्थानीय तहहरूबीच समन्वय बढाएर सम्भावित संकट न्यूनीकरणको तयारी आवश्यक देखिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button