No Image Headlineअर्थखबर फटाफट

वीरगञ्ज नाका हुँदै अघिल्लो आवको तुलनामा पेट्रोलियम पदार्थको आयात घट्दा पनि राजस्व किन बढ्यो

गत आर्थिक वर्ष २०८१/८२ मा वीरगञ्ज नाका हुँदै झन्डै रु १ खर्ब ९१ अर्ब ८८ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। डिजेल, पेट्रोल, एलपीजी ग्यास, एभिएसन टर्बाइन फ्युल (एटीएफ) र मट्टितेलजस्ता पेट्रोलियम पदार्थहरू मुख्य रूपमा आयात गरिएका हुन्।

यद्यपि अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा मूल्यको आधारमा रु १ अर्ब ९४ करोडले आयात घटेको देखिए पनि सोही अवधिमा राजस्व भने उल्लेखनीय रूपमा वृद्धि भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार राजस्व १०.२३ प्रतिशतले बढेर झन्डै रु ७ अर्ब ५१ करोडले वृद्धि भएको हो।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार कार्यालयले सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थकै आयातबाट संकलन गरेको छ। “यहाँको राजस्व मुख्यतः पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातमा निर्भर छ,” उनले बताए।

डिजेल आयात घट्यो, तर राजस्व बढ्यो

गत आवभरिमा ११ लाख ४९ हजार ५२१ किलोलिटर डिजेल आयात भएको थियो, जसको मूल्य रु ९९ अर्ब ९५ करोड पर्छ। अघिल्लो वर्ष भने १० लाख ५५ हजार १६० किलोलिटर डिजेल आयात भएको थियो, जसको मूल्य रु १ खर्ब ५ अर्ब ८७ करोड थियो। डिजेलबाट प्राप्त राजस्व गत आवमा रु ४५ अर्ब ७२ करोड पुगेको छ, जुन अघिल्लो वर्षको रु ४२ अर्ब ३६ करोडको तुलनामा बढी हो।

पेट्रोल र एलपीजी आयातमा समेत वृद्धि

चार लाख ५३ हजार ८६४ किलोलिटर पेट्रोल आयात भई रु ३८ अर्ब ७२ करोड बराबरको कारोबार भएको छ। अघिल्लो वर्ष तीन लाख ९४ हजार ७२३ किलोलिटर पेट्रोल आयात भएर रु ३९ अर्ब दुई करोडको कारोबार भएको थियो। पेट्रोलबाट रु २५ अर्ब ६६ करोड राजस्व उठेको छ, अघिल्लो वर्ष यो रकम रु २२ अर्ब ६२ करोड थियो।

त्यस्तै, एलपीजी ग्यासको आयात पनि बढेर ३१ करोड ८९ लाख किलोग्राम पुगेको छ। यसको मूल्य रु ३६ अर्ब ३७ करोड थियो भने अघिल्लो वर्ष २७ करोड ९० लाख किलोग्राम मात्र आयात भएको थियो। एलपीजीबाट राजस्व रु ६ अर्ब ८१ करोड संकलन गरिएको छ, जुन अघिल्लो वर्षको रु ५ अर्ब ६० करोडभन्दा धेरै हो।

एटीएफ र मट्टितेलमा केही घटबढ

गत वर्ष एक लाख ८० हजार ६६३ किलोलिटर एटीएफ आयात भई रु १६ अर्ब १४ करोड बराबरको कारोबार भएको थियो। अघिल्लो वर्षको तुलनामा आयातको मात्रा बढेको भए पनि मूल्य घटेको हो। एटीएफबाट रु २ अर्ब ५३ करोड राजस्व संकलन गरिएको छ, जुन अघिल्लो वर्षको रु २ अर्ब ६४ करोडभन्दा कम हो।

मट्टितेलको आयात ७ हजार ९३० किलोलिटरमा सीमित रहँदा मूल्य रु ६९ करोड पुगेको थियो। अघिल्लो वर्ष ६ हजार ८२० किलोलिटर आयात भएको थियो। यसबाट रु २० करोड राजस्व संकलन गरिएको छ, जुन अघिल्लो वर्षको रु १८ करोडभन्दा बढी हो।

यसरी मूल्यको हिसाबले आयात घटे पनि राजस्व वृद्धि हुनु कर संरचनाको प्रभावकारिता तथा आयातको स्रोत नियमनको संकेतका रूपमा देखिएको विश्लेषण गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button