
मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा हालसम्म ७१ प्रतिशतभन्दा बढी बजेट खर्च गरेको छ।
प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार २५ असार राति १२ बजेसम्म कुल बजेटको ७१.४४ प्रतिशत खर्च भइसकेको हो। चालु तर्फ ६४.६४ प्रतिशत र पुँजीगत तर्फ ७५.१४ प्रतिशत बजेट खर्च भएको विवरणमा उल्लेख छ।
चालु वर्षका लागि प्रदेश सरकारले कुल ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो। त्यसमध्ये ३१ अर्ब ३७ करोड ५२ लाख ४७ हजार रुपैयाँ खर्च भइसकेको छ।
मन्त्रालयगत खर्च विवरणअनुसार सबैभन्दा बढी खर्च गर्नेमा अर्थ मन्त्रालय अगाडि रहेको छ। मन्त्रालयले ८३.३६ प्रतिशत बजेट खर्च गरेको छ। त्यसपछि भौतिक पूर्वाधार मन्त्रालयले ७८.२० प्रतिशत, वन तथा वातावरण मन्त्रालयले ७७.४५ प्रतिशत र खेलकुद तथा समाज कल्याण मन्त्रालयले ६९.३१ प्रतिशत खर्च गरेका छन्।
उता, सबैभन्दा कम खर्च मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको छ। उक्त कार्यालयले जम्मा ३४.०६ प्रतिशत बजेट खर्च गरेको प्रदेश अर्थ मन्त्रालयले जनाएको छ।



