वीरगञ्जमा अघोषित लोडसेडिङ्ग बढ्दो, उद्योगहरू धराशायी हुने अवस्थामा

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोर र आसपासका क्षेत्रमा बढ्दो अघोषित लोडसेडिङ्ग र विद्युत आपूर्तिको अव्यवस्थित अवस्थाप्रति गम्भीर आपत्ति जनाएको छ।
एक विज्ञप्ति जारी गर्दै सङ्घले औद्योगिक क्षेत्रमा दैनिक ८ घण्टासम्म अघोषित लोडसेडिङ्ग हुनुका साथै दिनको १० देखि १२ पटकसम्म ट्रिपिङ्ग हुने समस्या औंल्याएको छ। यसले गर्दा स्थानीय उद्योगहरूले आफ्नो उत्पादन क्षमता मात्र ३०–३५ प्रतिशत प्रयोग गर्न सकिरहेको जनाइएको छ।
संघका अध्यक्ष हरि गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विसं २०७३ मा घरायसी र २०७५ मा औद्योगिक क्षेत्र लोडसेडिङ्गमुक्त भएको घोषणा भएको केही वर्षमै पुनः त्यस्तै अवस्था फर्कनु चिन्ताजनक विषय हो।”
बारा–पर्सा औद्योगिक कोरिडोरमा सिमेन्ट, फलाम–स्टील, पशुदाना, खाद्यान्न, औषधि र चुरोटजस्ता प्रमुख उद्योगहरू सञ्चालित छन्, जसमा करिब १,२०० उद्योगहरू क्रियाशील छन्।
सङ्घका अनुसार विद्युत् नहुँदा यी उद्योगहरू सञ्चालनमा कठिनाइ भएको छ र यसको असर सम्पूर्ण राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक रूपले परेको छ।
“हामी समाचारमा सुन्छौं, नेपाल विद्युत प्राधिकरणले भारत र बङ्गलादेशमा विद्युत बेचिरहेको छ। तर, आफ्नै देशको औद्योगिक क्षेत्रहरूलाई चाहिँ नियमित आपूर्ति गर्न नसक्नु दयनीय अवस्था हो,” विज्ञप्तिमा उल्लेख छ।
सङ्घले विद्युत आपूर्तिमा देखिएको लापरवाहीका कारण करोडौं मूल्यका औद्योगिक उपकरणहरू बिग्रिएको र उत्पादन लागतसमेत बढेको जनाएको छ।
विद्युत प्राधिकरणको यस्तो गैरजिम्मेवार व्यवहार जारी रहे उद्योग सञ्चालन असम्भव हुने र उद्योगीहरू सरकारलाई साँचो सुम्पन बाध्य हुने अवस्था आउन सक्ने चेतावनी पनि दिइएको छ।
सङ्घले नेपाल विद्युत प्राधिकरण र सम्बन्धित निकायहरूसँग शीघ्र समस्या समाधानको माग गर्दै आवश्यक वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ।



