No Image Headlineखेल संसार

त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालको शानदार जित, नेदरल्याण्ड्स ६ विकेटले पराजित

स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ।

नेदरल्याण्ड्सले दिएको १७५ रनको चुनौतीपूर्ण लक्ष्य नेपालले १९.४ ओभरमा मात्र चार विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा ओपनर कुशल भुर्तेलले आक्रामक अर्धशतकसहित ६५ रनको योगदान दिए। उनले ५१ बलमा ६ चौका प्रहार गरे।

यस्तै, आरिफ शेखले पनि विस्फोटक प्रदर्शन गरे। उनले २३ बलमा ३ चौका र २ छक्का सहित ३९ रन बनाएपछि खुट्टामा समस्या देखिएपछि मैदान छाड्नुपर्‍यो। टी–२० आईमा डेब्यु गरेका भीम सार्कीले १६ बलमा २ चौका र १ छक्का सहित २७ रनको महत्त्वपूर्ण पारी खेले।

कप्तान रोहित कुमार पौडेल पुनः फ्लप भए। उनी ७ बल खेलेर ५ रनमा आउट भए। दीपेन्द्र सिंह ऐरीले १६ रन र लोकेश बमले १२ रनको योगदान दिए।

यसअघि, टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको थियो।

नेदरल्याण्ड्सका माइकल लेविटले ५३ बलमा ६ चौका र ५ छक्का सहित ८६ रन बनाए। रोएलफ भ्यान डेर मेर्वेले अविजित ३६ रन, आर्यन दत्तले १७ रन र साकिब जुल्फिकारले १४ रनको योगदान दिए।

नेपालका बलरहरू मध्ये करण केसीले सबैभन्दा धेरै दुई विकेट लिए। उनले चार ओभरमा ४० रन खर्चिए। त्यस्तै, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश कुमार सिंहले समान एक–एक विकेट लिए।

यो जितसँगै नेपाल सिरिजको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। अब नेपालले शुक्रबार घरेलु टोली स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button