
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरि पन्तले देश समृद्धिको लागि अब विदेशी विचारधाराको होइन, नेपालको माटो र परिवेशमा आधारित ‘नेपालबाद’ आवश्यक रहेको बताएका छन्।
शनिबार बहुदरमाई नगरपालिका–३ स्थित नगरदहमा आयोजित रास्वपाको प्रथम वडा भेलालाई सम्बोधन गर्दै सभापति पन्तले मार्क्सवाद, लेनिनवाद र माओवादजस्ता आयातित विचारधाराले नेपाललाई समाधान दिन नसकेको जिकिर गरे। उनले भने, “मार्क्स, लेनिन र माओले आ-आफ्नो देशको परिस्थिति अनुसार विचार ल्याएका थिए, तर ती विचार नेपालका लागि सान्दर्भिक छैनन्। अब नेपालबाद नै हाम्रो मार्गदर्शन हुनुपर्छ।”
पन्तले मलेसियामा महाथिर मोहम्मद, भियतनाममा हो चि मिन र सिंगापुरमा लि क्वान युले देशलाई समृद्धिको दिशामा डो¥याएको उदाहरण दिँदै भने, “उनीहरुले ढुङ्गालाई सुन बनाएका थिए, तर नेपालमा काङ्ग्रेस, एमाले, माओवादी र मधेशवादी दलले सुन जस्तो देशलाई दोहन गरेर खरानी बनाएका छन्।” अब देश विकासको विकल्प रास्वपा मात्र भएको उनको भनाइ थियो।
भेलाले राजकिशोर साहको सभापतित्वमा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ। जसअनुसार उपसभापति राजु यादव, सचिव सत्रुधन यादव, र सदस्यहरुमा राजकुमार गुप्ता, बानारसी साह, इम्तियाज आलम, सागर यादव, ललिता देवी, सङ्गीता देवी, सितापती देवी, सफिना खातुन र कुश्मा देवी पासवान चयन भएका छन्।
उक्त कार्यक्रम रास्वपाका नगर सभापति चन्दन यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। भेलालाई केन्द्रीय सदस्य डा. नन्दन यादव, दिलीप कुर्मी, सुदीश प्रजापति लगायतका नेताहरुले सम्बोधन गरेका थिए। कार्यक्रमको सञ्चालन प्रमोद रायमाझीले गरेका थिए।



