२४०० गोटा प्रतिबन्धित ब्रोइलर चल्ला नष्ट, सवारी भन्सारमा बुझाइयो

भारतबाट अबैध रूपमा नेपाल भित्र्याइएको प्रतिबन्धित ब्रोइलर कुखुराको २४०० गोटा चल्ला सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिई नष्ट गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले धोबिनी गाउँपालिका–१, घोडदौड क्षेत्रमा भारततर्फबाट ल्याइँदै गरेको चल्ला नियन्त्रणमा लिएको हो। ती चल्ला एक भारतीय नम्बर प्लेटको मोटरसाइकलमा २४ वटा कार्टुनमा राखेर नेपालतर्फ ल्याइँदै गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका चल्ला आवश्यक प्रक्रिया पूरा गरी स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
यस अवैध कार्यमा संलग्न जगन्नाथपुर गाउँपालिका–२, जानकीटोल निवासी ४५ वर्षीय नवि देवानलाई समेत नियन्त्रणमा लिइएको छ। उनलाई प्रयोग गरिएको मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।



