मनसुन फैलन ढिलाइ : केही दिनमै बदली सुरु हुने, उच्च तापक्रमबाट राहतको संकेत

हाल नेपालमा प्रबल पश्चिमी वायुले प्रभाव जमाउँदा मनसुन निष्क्रिय अवस्थामा देखिएको छ। तर, मौसमविद्हरूका अनुसार बुधवारदेखि नेपालका विभिन्न क्षेत्रमा बदली सुरु हुने संकेत देखिएको छ, जसले तत्काल चर्को गर्मीबाट राहत दिने सम्भावना बढाएको छ।
यस वर्ष नेपालमा मनसुन सरदरभन्दा १५ दिनअगावै, अर्थात् जेठ १५ गते नै प्रवेश गरिसकेको थियो। सो क्रममा पूर्वी नेपालमा उल्लेख्य वर्षा भएको थियो। तर पश्चिमी वायुले बलियो रूप लिएको कारणले मनसुन अन्य क्षेत्रतर्फ फैलिन सकेन। मौसमविद्हरूले आगामी केही दिनमा पनि त्यस्तो अवरोध कायम रहने बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार, “मनसुन पूर्वबाट पश्चिम फैलिनुपर्ने हो तर अहिले पश्चिमबाट पूर्व बहने वायु प्रबल छ। यसले गर्दा मनसुनको विस्तारमा ढिलाइ भइरहेको छ।”
उनका अनुसार बुधवार वा बिहीवारदेखि क्रमशः पूर्वबाट पश्चिमतर्फ बादल लाग्ने क्रम सुरु भई यही हप्ता अन्त्य वा अर्को साताको सुरुतिर मनसुन विस्तार हुने सम्भावना बढेको छ।
यसपालि मनसुनको अवधि १२२ दिनको रहने अनुमान गरिएको छ। जल तथा मौसम पूर्वानुमान विभागका अनुसार, असोज १४ (सेप्टेम्बर ३०) मा मनसुन नेपालबाट बाहिरिनेछ। सामान्यतया नेपालमा जुन १३ मा मनसुन भित्रने र अक्टोबर २ मा बाहिरिने मानिन्छ।
गर्मी सामान्य, उष्णलहर सीमित
यद्यपि हाल केही क्षेत्रहरूमा तापक्रम ४० डिग्री नाघे पनि व्यापक उष्णलहरको अवस्था देखिएको छैन। सोमवार धनगढी, नेपालगञ्ज र भैरहवामा तापक्रम ४० डिग्री पार गरेको थियो भने मङ्गलवार सुदूरपश्चिममा तापक्रम ३६ डिग्रीसम्म मात्र देखिएको थियो। लुम्बिनी क्षेत्रको पश्चिमी भागमा तापक्रम ३७ डिग्री मापन गरिएको थियो।
“बुधवारदेखि मौसम बदली हुने सम्भावनाका कारण तापक्रम अझै बढ्ने देखिँदैन,” मानन्धरले बताइन्। मङ्गलवार काठमाडौँमा अधिकतम तापक्रम ३०.४ डिग्री मापन गरिएको थियो।
वर्षासँगै ‘ब्रेक’ अवधि पनि सम्भव
मनसुन फैलिसकेपछि पनि केही दिन पानी नपर्ने अवस्था आउन सक्ने भन्दै मौसमविद्हरूले यसलाई ‘मनसुन ब्रेक’ को अवस्था भनेर चिनाएका छन्। यस्ता अवधिमा तापक्रम पुनः बढ्न सक्छ।
“गर्मी बढ्नु अहिलेको अवस्था अनुसार अस्वाभाविक होइन,” मानन्धर भन्छिन्, “अघिल्लो वर्ष हामीले ११ वटा ‘हिटवेभ’ बुलेटिन जारी गरेका थियौँ, यसपालि अहिलेसम्म दुई–तीन वटा मात्रै जारी गरेका छौँ।”
विपद् जोखिम: २० लाख मानिस प्रभावित हुने अनुमान
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुन अवधिमा २० लाख मानिस प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ। सन् २०२४ मा मनसुनका बेला बाढी र पहिरोका घटनामा ४९५ जनाले ज्यान गुमाएका थिए।
प्रवक्ता रामबहादुर केसीका अनुसार, यस वर्ष ४ लाख ५७ हजार घरपरिवार प्रभावित हुन सक्नेछ, जसमा १० प्रतिशतले प्रत्यक्ष असर भोग्न सक्छन्। प्राधिकरणले “मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२” स्वीकृत गरेर संघदेखि स्थानीय तहसम्म जोखिम न्यूनिकरणमा सक्रियता बढाएको छ।
बाढी, पहिरो, डुबान र चट्याङबाट २ लाख मानिस प्रत्यक्ष प्रभावित हुन सक्ने भएकाले खोज, उद्धार तथा राहतका लागि सम्बन्धित निकायहरू तयारी अवस्थामा छन्। देशभर १३ जिल्लाका ४९ स्थानमा साइरन प्रणाली जडान गरिएको छ।
जनस्वास्थ्यमा पनि सतर्कता
औसतभन्दा धेरै वर्षाको सम्भावना रहेकाले महामारीको जोखिमसमेत बढेको भन्दै जनस्वास्थ्य निकायहरूले सतर्कता बढाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका अधिकारीहरूले झाडापखाला, हैजा, डेङ्गी र फूड पोइजनिङ जस्ता रोगको जोखिम बढ्ने बताएका छन्।
महाशाखाका निर्देशक डा. चन्द्र भाल झाका अनुसार निगरानी प्रणालीमार्फत मुलुकभरको स्वास्थ्य अवस्थाको अनुगमन भइरहेको छ। स्थानीय तह र प्रदेशस्तरमा आधारभूत औषधि र जनशक्ति तयारी अवस्थामा राखिएको छ। उनले स्वास्थ्य सुरक्षाको दृष्टिले पानी तताएर पिउन, सजिलोसँग नपच्ने तथा अत्यधिक तेलयुक्त खानेकुरा नखान सुझाव दिएका छन्।



