खेल संसार
नेदरल्यान्ड्सको माल्टामाथि ८–० को भव्य जीत, फिनल्यान्ड समूह ‘जी’ को शीर्षमा

युरोपेली राष्ट्रहरूको विश्वकप छनोट अन्तर्गत मंगलबार राति भएको समूह ‘जी’को खेलमा नेदरल्यान्ड्सले माल्टामाथि ८–० को सनसनीपूर्ण जीत हासिल गरेको छ।
नेदरल्यान्ड्सका लागि मेम्फिस डिपे र डोनेल मालेनले दुई-दुई गोल गरे। बाँकी चार गोल भर्जिल भान डिजिक, जाभी सिमोन्स, नोह लाङ र मिक्की भान डे भेनले गरे।
माल्टामाथिको एकतर्फी जीतसँगै नेदरल्यान्ड्सले दुई खेलमा ६ अंक जोडेको छ। सोही समूहको अर्को रोमाञ्चक खेलमा फिनल्यान्डले पोल्यान्डलाई २–१ ले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको छ।
हेलसिन्कीमा सम्पन्न यस कठिन जीतसँगै फिनल्यान्ड चार खेलमा सात अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ। पोल्यान्डले तीन खेलमा ६ अंक बनाएको छ भने लिथुवानियाले तीन खेलबाट दुई अंक मात्र जोड्न सकेको छ। माल्टाले भने चार खेलमा केवल एक अंक मात्र बटुल्न सकेको छ।


