No Image Headlineखेल संसार

नेपालको ऐतिहासिक प्रदर्शन, नेदरल्याण्ड्सविरुद्ध १६ रनको सनसनीपूर्ण जीत

स्कटल्याण्डको डण्डीमा मंगलबार सम्पन्न आईसीसी एकदिवसीय विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध १६ रनको सनसनीपूर्ण जीत हासिल गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २३६ रन बनायो। जवाफमा नेदरल्याण्ड्सले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २२० रन मात्र बनाउन सक्यो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रनको अर्धशतकीय इनिङ खेले। उनले ८५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। यो उनको एकदिवसीय करियरकै सर्वोच्च स्कोर हो।

भीम सार्कीले ३८ बलमा ३ चौकासहित ३५ रन जोडे भने कप्तान रोहित पौडेलसँग मिलेर तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे। उपकप्तान दीपेन्द्रसिंह ऐरीले १६ रन, बसिर अहमदले ११ रन, करण केसीले ११ रन र नन्दन यादवले अविजित १० रन बनाए।

ओपनर कुशल भुर्तेल १८ रनमा आउट भए भने अनिल साहले मात्र २ रन बनाए। नेदरल्याण्ड्सका पल भान मेकरेनले ४ विकेट लिँदा माइकल लेभिटले ३ विकेट लिए।

बलिङतर्फ नेपालका लागि ललित राजवंशी, सन्दीप लामिछाने, र नन्दन यादव प्रभावशाली रहे। राजवंशीले ३, लामिछानेले ३ र नन्दनले ३ विकेट लिए। करन केसीले पनि एक विकेट लिएर नेदरल्याण्ड्सको अन्तिम विकेट लिँदै नेपालको जीत सुनिश्चित गरे।

नेदरल्याण्ड्सले पेनाल्टीस्वरूप अतिरिक्त १० रन पाएर १० रनबाट आफ्नो पारी सुरु गरेको थियो। तर नेपाली बलरहरूको आक्रामक प्रदर्शनले उनीहरूलाई २२० रनमै समेटियो।

नेदरल्याण्ड्सका वेस्ली बारेसीले ३६ रन, स्कट इडवार्डले ३० रन, क्लेइनले २५ रन र मिचेल लेभिटले २७ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

नेपालले यस खेलमा तीन खेलाडी परिवर्तन गरेको थियो। आसिफ शेख, गुल्शन झा र सोमपाल कामीको स्थानमा नन्दन यादव, बसिर अहमद र अनिल साह समावेश भएका थिए।

नन्दन यादवले यो खेलमार्फत एकदिवसीय क्रिकेटमा डेब्यु गरे। उनी नेपालका लागि ओडीआई खेल्ने ४२औं खेलाडी बने। बसिर अहमदले भने दुई वर्षपछि पुनरागमन गरेका हुन्।

लिग–२ अन्तर्गतको अन्तिम खेलमा जीत निकाल्दै नेपालले आत्मविश्वास बढाएको छ। अब नेपाल स्कटल्याण्डमै हुने टी-२० शृंखलामा प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button