मनसुनमा बढी वर्षाको पूर्वानुमान, डेंगु महामारीको जोखिम बढ्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

मौसम पूर्वानुमानकर्ताहरूले यो वर्ष मनसुनमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिरहँदा स्वास्थ्य मन्त्रालयले डेंगु सङ्क्रमणमा वृद्धि हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, सन् २०२५ को जनवरी १ देखि जुन ८ सम्मको अवधिमा देशभर १,२५५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। यो संख्या अघिल्लो वर्षको सोही अवधिमा करिब २,५०० थियो। यद्यपि यस वर्ष हालसम्म डेंगुकै कारण कुनै मृत्यु भएको छैन।
महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले भने, “पोहोर सालभन्दा सङ्क्रमणको सङ्ख्या घटेको देखिए पनि यो वर्ष बढी वर्षा हुने पूर्वानुमान भएकाले महामारी फैलिन सक्ने जोखिम कायमै छ। त्यसैले हामी सतर्क रहन सबैमा अपील गर्छौं।”
यस वर्ष हालसम्म देशका ७२ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ। सबैभन्दा धेरै प्रभावित बागमती प्रदेशमा १३२ सङ्क्रमित काठमाडौं जिल्लामा छन्, त्यसपछि कास्कीमा ९० र सुनसरीमा ८७ सङ्क्रमित भेटिएका छन्। मनाङ, महोत्तरी, रसुवा, डोल्पा र हुम्ला भने सङ्क्रमणरहित रहेका छन्।
महाशाखाका अनुसार बागमतीपछिका प्रभावित प्रदेशहरूमा कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र मधेश रहेका छन्। लामखुट्टेबाट सर्ने यो भाइरसजन्य रोग विशेष गरी मनसुनको समयमा फैलिने भएकाले जोखिम अझ बढी हुने विज्ञहरू बताउँछन्।
डेंगु सङ्क्रमण भएका धेरै बिरामीमा लक्षण नदेखिन सक्ने हुँदा वास्तविक सङ्ख्या सरकारी तथ्याङ्कभन्दा बढी हुनसक्ने पनि महाशाखाले जनाएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार विश्वभर करिब १० करोडदेखि ४० करोड मानिस हरेक वर्ष डेंगु सङ्क्रमणमा पर्ने गर्छन्। नेपालमा यो रोग पहिलोपटक सन् २००४ मा देखिएको हो।
डा. गोकर्ण दाहालका अनुसार, डेंगु भाइरसजन्य रोग हो जसले सामान्य अवस्थामा ज्वरो, वान्ता, पेट दुख्नेजस्ता लक्षण देखाउन सक्छ। तर गम्भीर अवस्थामा आन्तरिक र बाह्य रक्तश्राव जस्ता खतरनाक लक्षण पनि देखिन सक्छन्। डेंगुको विशिष्ट उपचार विधि नभएकोले लक्षणका आधारमा मात्रै उपचार गरिन्छ। ज्वरो आउँदा सिटामोल, झाडापखाला लाग्दा जीवनजल प्रयोग गर्न सकिने बताइएको छ।
“गम्भीर लक्षण देखिएमा आफ्नै मनले औषधि नखानुहोस्। त्यसले अवस्था झन् बिग्रन सक्छ। तत्काल स्वास्थ्य संस्थामा जानु उत्तम हुन्छ,” डा. दाहालले भने।
स्वास्थ्यकर्मीहरूका अनुसार डेंगु भएका बिरामीले झोलिलो, नरम, रेसादार खानेकुरा खानु उपयुक्त हुन्छ जसले शरीरको प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ।
सरकारले डेंगुलाई जनस्वास्थ्य चुनौतीको रूपमा लिएर रोकथाम र नियन्त्रणको रणनीति अवलम्बन गरिरहेको छ।
सावधानीका उपायहरू
महाशाखाले डेंगु नियन्त्रणका लागि निम्न उपायहरू अपनाउन सुझाव दिएको छ:
- घर तथा वरिपरिका क्षेत्रमा पानी जम्न नदिनु,
- लामखुट्टेले अण्डा पार्ने सफा पानीको स्रोतहरू नष्ट गर्नु,
- निर्माणाधीन स्थल, पुल, सडक किनारमा लामो समयसम्म जमेको पानी हटाउने,
- लुगा लगाउँदा पुरै शरीर ढाक्ने, मच्छरदानीको प्रयोग गर्ने,
- समुदायस्तरमा लामखुट्टे नाश गर्ने अभियान चलाउने।
“पानी जम्न नदिएर र लामखुट्टेले अण्डा पार्ने ठाउँ हटाएर नै डेंगु नियन्त्रण गर्न सकिन्छ,” निर्देशक झाले भने। मनसुन सुरु भइसकेको सन्दर्भमा स्वास्थ्य मन्त्रालयले नागरिकहरूलाई विशेष सतर्कता अपनाउन पुनः आग्रह गरेको छ।



