ट्रम्प–न्यूसमबीच अधिकारको द्वन्द्व, आप्रवासी धरपकडविरुद्धको प्रदर्शन तेस्रो दिनमा

लस एन्जलस सहरमा आप्रवासीहरूको धरपकडविरुद्ध जारी विरोध प्रदर्शन तेस्रो दिनमा प्रवेश गरेसँगै सहरको केन्द्रमा व्यापक अशान्ति देखिएको छ। प्रहरीले प्रदर्शनकारीहरूलाई केन्द्र क्षेत्रबाट हट्न आग्रह गरे पनि प्रदर्शनहरू अझै कायमै छन्।
गत शनिबारदेखि सुरु भएको प्रदर्शन केही ठाउँमा हिंसात्मक बन्दै गएको छ। विभिन्न स्थानमा गाडीमा आगजनी गरिएको छ भने लुटपाटका घटनाहरू पनि रिपोर्ट भएका छन्। भिड नियन्त्रणको प्रयासमा एक ब्रिटिश फोटो पत्रकार स्पोन्ज बुलेटबाट गम्भीर घाइते भएका छन् र शल्यक्रिया आवश्यक भएको जनाइएको छ। त्यस्तै, एक अस्ट्रेलियाली पत्रकारमाथि गैरघातक हमला भएको छ।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले राष्ट्रपति डोनल्ड ट्रम्पमाथि राज्यमा “सङ्कट निम्त्याएको” आरोप लगाएका छन्। ट्रम्प प्रशासनले २,००० क्यालिफोर्निया नेशनल गार्डलाई लस एन्जलसमा खटाएको छ, जुन न्यूसमको असहमतिकाबीच गरिएको कदम हो। गभर्नर न्यूसमले यस कार्यलाई “गैरकानुनी” र “अनैतिक” भन्दै ट्रम्प प्रशासनविरुद्ध मुद्दा हाल्ने चेतावनीसमेत दिएका छन्।
सामान्यतया गभर्नरको अनुरोधमा मात्र नेशनल गार्ड परिचालित गरिन्छ, तर यसपटक ट्रम्प प्रशासनले संघीय आदेशमार्फत उनीहरूको परिचालन गरेको हो। राष्ट्रपति ट्रम्पले “कानुन व्यवस्था कायम गर्न” उक्त कदम आवश्यक रहेको बताएका छन्। उनले प्रदर्शनकारीहरूलाई “हिंस्रक, विद्रोही जत्था” को संज्ञा दिँदै शान्ति पुनःस्थापनाको दाबी पनि गरेका छन्।
तर स्थानीय प्रशासनले भने अधिकांश प्रदर्शनहरू शान्तिपूर्ण रहेको र केही झडपहरूलाई नियन्त्रण गरिएको बताएको छ। लस एन्जलस प्रहरीले अश्रुग्यास र रबरका गोलीको प्रयोग गर्दै प्रदर्शनकारीहरूलाई तितरबितर पारेको छ। घटनास्थलमा टायर तथा गाडीहरू जलाइएको र दर्जनौँ प्रदर्शनकारी पक्राउ परेका छन्।
संघीय गृहमन्त्री क्रिस्टी नोअमले प्रदर्शन नियन्त्रणमा स्थानीय निकाय ढिलाइमा रहेको आरोप लगाउँदै “२०२० जस्तो अवस्था दोहोरिन दिइने छैन” भनेकी छन्। उनले ब्ल्याक लाइभ्स म्याटर आन्दोलनताका भएको प्रदर्शनको प्रसंग पनि उठाएकी छन्।
यता, डेमोक्र्याटिक गभर्नरहरू, सांसदहरू र नागरिक अधिकार समूहहरूले ट्रम्प प्रशासनको कडा आप्रवासन नीति, बलप्रयोग तथा संघीय हस्तक्षेपको निन्दा गरेका छन्। न्यूजर्सीका सिनेटर कोरी बुकरले “राज्य सरकारको माग विना संघीय हस्तक्षेपले अवस्था झनै बिगार्छ” भन्दै कडा आपत्ति जनाएका छन्। उनले कानुनी प्रक्रिया पालना गरिरहेका आप्रवासीहरूमाथि समेत धरपकड गरिएको भन्दै ट्रम्प प्रशासनमाथि भ्रम र अराजकताका बीउ रोपेको आरोप लगाए।
गर्मी मौसममा अमेरिका विरोध प्रदर्शनहरू हुने गरे पनि ट्रम्पको दोस्रो कार्यकालको पाँच महिनामै देखिएको यो अवस्थाले आगामी दिनहरूमा थप अस्थिरता ल्याउने संकेत देखिएको विश्लेषकहरू बताउँछन्। लस एन्जलसमा सुरु भएको यो आन्दोलन कति फैलिन्छ वा यहीँ रोकिन्छ भन्ने अझै अनिश्चित छ।



