
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशको पश्चिमी, मध्य र पूर्वी भूभागमा विभिन्न वायुप्रणालीको प्रभाव देखिएको जनाएको छ। पश्चिम तथा मध्य क्षेत्रमा पश्चिमी र स्थानीय वायु सक्रिय रहेका छन् भने कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव उल्लेख्य रहेको विभागले जनाएको छ।
हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ। कोशी प्रदेशका केही स्थानहरूमा मनसुनी प्रभावका कारण वर्षा भइरहेको छ।
आज दिउँसो कोशी र मधेस प्रदेशका साथै देशका अन्य पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भागमा मौसम सामान्यतः सफा रहने सम्भावना छ। कोशी प्रदेशका थोरै स्थानहरू तथा मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति कोशी प्रदेशसहित पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम सामान्यतः सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज सूर्योदय बिहान ५:०७ बजे भएको हो भने सूर्यास्त साँझ ६:५८ बजे हुने विभागले जानकारी दिएको छ।



