थाइल्यान्डबाट फर्कँदै गरेका यात्रुको लगेजबाट विमानस्थलमा ४७ वटा विषालु सर्प बरामद

भन्सार अधिकारीहरूले मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्यान्डबाट फर्किरहेका एक भारतीय नागरिकलाई दुर्लभ तथा विषालु सरिसृपहरू तस्करी गरेको अभियोगमा पक्राउ गरेका छन्।
आईतवार भएको यो घटनामा ती यात्रुको लगेज जाँच गर्दा ४७ वटा विषालु सर्पसहितका सरिसृपहरू फेला परेको भन्सार विभागले जनाएको छ। बरामद गरिएका जनावरहरूमध्ये तीनवटा स्पाइडर-टेल्ड हर्न्ड भाइपर, पाँचवटा एसियन लीफ टर्टल, र ४४ वटा इन्डोनेसियन पिट भाइपर रहेको अधिकारीहरूले बताएका छन्। जनावरहरू एउटा ठूलो कन्टेनरमा जीवित अवस्थामा भेटिएको बताइएको छ।
सार्वजनिक गरिएको फोटोमा विभिन्न रंगका विषालु सर्पहरू एउटै प्लेटमा घुमिरहेको देखिन्छ। ती सर्पहरू निकै दुर्लभ मानिने प्रजातिका हुन् र भारतको वन्यजन्तु संरक्षण ऐनअनुसार संरक्षित श्रेणीमा पर्छन्।
सम्बन्धित अधिकारीहरूले ती यात्रुको पहिचान गोप्य राखेका छन् भने हाल उनलाई हिरासतमा राखिएको छ। उनले पक्राउसम्बन्धी कुनै टिप्पणी दिएका छैनन्।
भारतको वन्यजन्तु संरक्षण कानुनअनुसार संकटापन्न वा संरक्षित प्रजातिका जनावर ल्याउन विशेष अनुमति आवश्यक हुन्छ। सो अनुमति नलिई ल्याइएका जनावरहरू नियन्त्रणमा लिइने र तस्करीमा संलग्न ठहरिएमा कानुनी कारबाही हुने व्यवस्था छ।
यस्ता तस्करीका घटना भारतमा नौलो भने होइन। यसअघि जनवरी महिनामा दिल्ली विमानस्थलमा एक क्यानडाली नागरिकको झोलाबाट गोहीको खप्पर बरामद भएको थियो। फेब्रुअरीमा मुम्बई विमानस्थलबाट पाँचवटा सायमाङ् गिब्बन नामक संकटापन्न प्रजातिका जनावरहरू बरामद गरिएको थियो।
ती जनावरहरू इन्डोनेसिया, मलेसिया र थाइल्यान्डमा पाइने प्रजातिका हुन् र ट्रली ब्यागको भित्र प्लास्टिक क्रेटमा लुकाएर ल्याइएका थिए।
सन् २०१९ मा चेन्नई विमानस्थलमा पनि यस्तै घटना भएको थियो, जहाँ थाइल्यान्डबाट आएका यात्रुको साथबाट विभिन्न दुर्लभ प्रजातिका सर्प, कछुवा, मेढक र इग्वाना फेला परेका थिए।
सरकारले यस्ता घटनाहरू नियन्त्रण गर्न सुरक्षा सतर्कता बढाएको बताएको छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले यस्ता जनावरहरूलाई संकटापन्नको सूचीमा राख्दै तिनको अवैध कारोबार नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको बताएको छ।



