No Image Headlineखबर फटाफटदेश

मधेशमा सशस्त्र प्रहरीद्वारा ‘डिजास्टर भोलिन्टियर’ उत्पादन, १३९ जनालाई तालिम 

सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशका आठ वटै जिल्लामा आगामी मनसुन र अन्य प्राकृतिक तथा मानवजन्य प्रकोपको प्रभाव न्यूनिकरण गर्न समुदायस्तरमै ‘डिजास्टर भोलिन्टियर’ उत्पादन गर्ने अभियान थालेको छ।

प्रकृतिक र मानवजन्य प्रकोपको दृष्टिले उच्च जोखिममा पर्ने मधेश प्रदेशका जिल्लामा विपद्‌ व्यवस्थापन क्षमता अभिवृद्धि गर्न सशस्त्र प्रहरी बलले स्थानीय तहहरूसँग सहकार्य गर्दै तालिम कार्यक्रम अघि बढाएको हो।

सशस्त्र प्रहरी बलका मधेश प्रदेश वाहिनीपति डिआईजी कृष्ण ढकालको विशेष निर्देशनअनुसार हरेक जिल्लामा यसै आर्थिक वर्षभित्र कम्तीमा २५ जना भोलिन्टियर उत्पादन गर्ने लक्ष्यसहित २१ दिने आधारभूत विपद्‌ व्यवस्थापन तालिम सुरु गरिएको छ।

हालसम्म रौतहटमा ३८ जना, महोत्तरीमा २६ जना, सर्लाही, धनुषा र सप्तरीमा २५/२५ जना गरी जम्मा १३९ जनाले तालिम प्राप्त गरिसकेका छन्। बाँकी तीन जिल्ला — बारा, पर्सा र सिरहामा पनि चाँडै तालिम सुरु गरिने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

डिआईजी ढकालका अनुसार, “विपद्को पहिलो प्रत्युत्तरदाता भनेको स्थानीय समुदाय नै हो। जब समुदायलाई नै सक्षम बनाइन्छ, तब मात्र हामीले न्यून क्षतिको आकांक्षा गर्न सक्छौं। हामी सकेसम्म मानवीय क्षति हुनै नदिने अभियानमा छौं। समुदाय र सुरक्षा निकायको सहकार्यमा यो सम्भव छ।”

यस्तै, विपद्बारे तत्काल जानकारी संकलन गर्न प्रत्येक पालिकाका वडामा कम्तीमा २५ जना ‘विपद् सूचक’ तयार पार्ने कार्य समेत अघि बढाइएको छ। सशस्त्र प्रहरीले हालसम्म सबै जिल्लाका स्थानीय तहहरूसँग समन्वय गरी विपद् सूचकको विवरण तथा सम्पर्क नम्बर संकलन गरिसकेको छ।

सशस्त्र प्रहरी बलको यो अभियानले मधेश प्रदेशमा स्थानीय स्तरमै दिगो विपद् व्यवस्थापनको आधार तयार गर्ने विश्वास गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button