विश्वकप लिग–२: नेपाल आज स्कटल्यान्डसँग भिड्दै, सिरिजको सुरुआत गर्न तयार

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्यान्डविरुद्ध खेल्दै छ। त्रिदेशीय श्रृंखला अन्तर्गत नेपालले स्कटल्यान्डसँग खेल्दै चौथो चरणको सिरिजको सुरुआत गर्न लागेको हो। खेल नेपाली समयअनुसार सोमबार दिउँसो ३:४५ बजे सुरु हुनेछ।
स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्स सम्मिलित सिरिज सात महिनापछि लामो ढाँचाको क्रिकेटमा फर्किएको नेपालका लागि महत्वपूर्ण रहेको छ। लिग–२ मा टिकिरहन नेपालले अबका खेल जित्नैपर्ने दबाब छ।
नेपालले यसअघि २०२४ को नोभेम्बरमा अमेरिका, स्कटल्यान्ड र नेपाल सम्मिलित त्रिदेशीय सिरिज अमेरिकामा खेलेको थियो। स्कटल्यान्डसँग भएको अघिल्ला आठ एकदिवसीय खेलमध्ये नेपालले चारमा जित निकाल्दा स्कटल्यान्डले तीन जितेको छ भने एक खेल रद्द भएको थियो।
लिग–२ अन्तर्गत स्कटल्यान्डको ‘ए’ टिमसँग दुई अभ्यास खेल खेलेर तयारी थालेको नेपाल पहिलो खेलमा स्कटल्यान्डसँग १०२ रनले पराजित भएको थियो। दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो।
हाल लिग–२ मा आठ टोलीबीच प्रतिस्पर्धा जारी छ। सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपका लागि यो लिग छनोट चरणको हिस्सा हो। लिगको शीर्ष चार टोलीले विश्वकप ग्लोबल छनोटमा स्थान बनाउने छन् भने अन्तिम चार टोलीले प्लेअफ खेल्नुपर्नेछ।
अहिलेसम्म नेपालले १२ खेलमा ६ अंक जोड्दै तालिकाको पुछारमा रहेको छ। स्कटल्यान्ड १६ खेलबाट २० अङ्कसहित चौथो स्थानमा छ भने नेदरल्यान्ड्सले २० खेलबाट २६ अङ्क जोड्दै दोस्रो स्थानमा छ। अमेरिकाले २० खेलबाट २८ अङ्क जोड्दै शीर्ष स्थानमा रहँदा ओमान २४ अङ्कसहित तेस्रो, क्यानाडा २० अङ्कसहित पाँचौं, नामिबिया १४ अङ्कसहित छैठौं र युएई ६ अङ्कसहित सातौं स्थानमा छन्।
नेपालले लिग–२ अन्तर्गत यो सिरिजमा सोमबार स्कटल्यान्ड, बुधबार नेदरल्यान्ड्स, आइतबार पुनः स्कटल्यान्ड र मङ्गलबार नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ। सिरिजपछि यी तीन टोलीबीच टी–२० त्रिकोणात्मक सिरिजसमेत आयोजना हुनेछ।
नेपाली टोलीको नेतृत्वमा रोहितकुमार पौडेल
क्रिकेट संघ नेपाल (क्यान) ले कप्तानको रूपमा रोहितकुमार पौडेलको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। उपकप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन्। टोलीमा कुशल भुर्तेल, आरिफ शेख, अनिलकुमार साह, गुल्सनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, भीम सार्की, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल रहेका छन्।
प्रमुख प्रशिक्षक स्टुअर्ट ल के निर्देशनमा टिम रहेको छ भने हालै नियुक्त दक्षिण अफ्रिकाका निक पोथास कन्सल्ट्यान्ट प्रशिक्षकको भूमिकामा छन्। पूर्वकप्तान ज्ञानेन्द्र मल्ल सहायक प्रशिक्षकका रूपमा टिममा छन्।



