
राइड सेयरिङसम्बन्धी विवाद चर्किँदा देशभर सार्वजनिक यातायात ठप्प भएको छ। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सार्वजनिक सवारी गाडीहरू सोमबारदेखि ग्यारेजमै थन्किएका छन्।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले समितिको आह्वानअनुसार सार्वजनिक यातायात सञ्चालनमा नआएको जानकारी दिए। आन्दोलनकारी व्यवसायीले गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’सम्बन्धी नियमावली खारेज गर्न माग गरेका छन्।
यसअघि केही दिन गण्डकी प्रदेशमा मात्र आन्दोलन गरेका व्यवसायीले सोमबारदेखि आन्दोलनलाई देशव्यापी बनाएका हुन्। देशभर सार्वजनिक यातायात बन्द हुँदा सर्वसाधारणले व्यापक सास्ती भोग्नुपरेको छ।
सार्वजनिक यातायात नहुँदा पूर्व निर्धारित परीक्षामा सहभागी हुन हिँडेका विद्यार्थी र अत्यावश्यक कामका लागि हिँडेका सर्वसाधारण अलपत्र परेका छन्। आन्दोलन कहिले अन्त्य हुन्छ भन्ने विषयमा व्यवसायीहरूले अझै कुनै समयसीमा तोकेका छैनन्।



