No Image Headlineदेश

प्रधानमन्त्री ओलीको भनाइ : “गृहमन्त्रीको राजीनामा माग्नु निराधार र अनुचित”

प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित भएको बताएका छन्। शनिबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित ‘हाफ म्याराथन’ को उद्घाटनपछि कान्तिपुरका व्यवस्थापक तथा सम्पादकहरूसँगको कुराकानीमा उनले प्रतिपक्षी दलको मागलाई असम्भव र गैर-आधारभूत भने।

प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि हालसम्म कुनै औपचारिक आरोप नलागेको र कुनै अनुसन्धान प्रक्रियासमेत अघि नबढेको अवस्थामा प्रतिपक्षी दलले सदन अवरोध गर्दै राजीनामा माग्नु उचित नहुने स्पष्ट पारे।

उनले भने, “म प्रतिपक्षको आलोचना गर्ने अधिकारको सम्मान गर्छु, तर विरोधका लागि पनि केही आधार हुनुपर्छ। गृह मन्त्रालय मातहत धेरै कर्मचारी छन्। तीमध्ये कुनै एक कर्मचारीमाथि अख्तियारले बोलायो भन्दैमा मन्त्रीलाई नै राजीनामा दिन लगाउनु अस्वाभाविक माग हो।”

प्रधानमन्त्री ओलीले प्रतिपक्षको रवैयालाई खिल्लीसाथ तुलना गर्दै भने, “बच्चाले झोला वा खेलौना हात्ती माग्दा दिन सकिएला, तर सक्कली हात्ती झोलामा हालेर दिन सकिन्न। त्यसैगरी गृहमन्त्रीको राजीनामा माग पूरा गर्नु अहिलेको अवस्थामा सम्भव छैन।”

उनले विगतमा तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा सम्बन्धित निकाय सीआईबीबाट छानबिन चलिरहेको सन्दर्भमा माग उठेको र त्यो अवस्था अहिले नभएको उल्लेख गरे। “अहिले त निहुँ नपाएर निहुँ खोजिएको जस्तो देखिन्छ, मानौँ ३५ किलो सुन तस्करीको मुद्दा हो भनेजस्तो गरिंदैछ,” ओलीको टिप्पणी थियो।

प्रधानमन्त्री ओलीले राजनीतिक दलभित्रको आन्तरिक विवादलाई बाहिर ल्याई छिमेकीलाई डिस्टर्ब गर्ने शैलीको विरोध नगरियोस् भन्ने आग्रहसमेत गरे।

बजेटबारे गरिएको प्रश्नमा उनले हालको बजेट यथार्थपरक र कार्यान्वयनयोग्य भएको दाबी गरे। पूर्वाधारमा धेरै काम भइसकेकाले अब सामाजिक सुरक्षा, सुशासन र समग्र विकासमा ध्यान केन्द्रित गरिने उनले बताए।

प्रधानमन्त्री ओलीले खेलकुदले सामाजिक एकता र जनसक्रियता बढाउने बताउँदै हाफ म्याराथनको आयोजना गरेका कान्तिपुर मिडिया ग्रुपलाई धन्यवाद पनि दिए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button