
नेपालमा मनसुन प्रवेश गरेसँगै पूर्वी क्षेत्रमा अविरल वर्षाले बाढी तथा पहिरोको जोखिम निम्तिएको छ। यही बिहीबार रातिदेखि पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन कोशी प्रदेशभर फैलिएको छ। त्यसको २४ घण्टामै विभिन्न स्थानमा बाढीले क्षति पुर्याएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार, आज बिहान परेको अविरल वर्षाले धरान–धनकुटा सडकखण्ड अन्तर्गत सागुरीगढी गाउँपालिका–६ को फेदीमा लेउती खोलाको बाढीले करीब १०० मिटर सडक बगाएको छ। यसले कोशी राजमार्ग अन्तर्गतको धरान–धनकुटा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। परिणामस्वरूप धनकुटा हुँदै भोजपुर, सङ्खुवासभा, ताप्लेजुङ र पाँचथर जाने यातायात ठप्प भएको प्राधिकरणले जनाएको छ।
त्यसैगरी, झापामा माई खोलाको बाढीले २२ घर डुबानमा पारेको पनि केसीले जानकारी दिए। उनका अनुसार अहिले पानी घट्दो क्रममा छ र मानवीय जोखिम नरहेको जनाइएको छ। प्रभावित स्थानका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले झापा र धरान–धनकुटा सडक क्षेत्र लगायत पूर्वी नेपालका बाढी तथा पहिरो प्रभावित स्थानमा उद्धार कार्य र नागरिक सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको जानकारी दिए।
यस वर्ष नेपालमा मनसुन सरदरभन्दा १५ दिनअघि नै भित्रिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
पछिल्ला १२ घण्टामा कोशी प्रदेशका झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा अत्यधिक वर्षा मापन गरिएको विभागले जनाएको छ। वर्षा गराउने प्रणाली उत्तरतर्फ सर्दै गएको हुँदा थप वर्षाको सम्भावना रहेको भन्दै विभागले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार झापा, इलाम, मोरङ, सुनसरी र धनकुटाका विभिन्न क्षेत्रमा अत्यधिक वर्षा भएका कारण कन्काई, बिरिङ, केसलिया लगायत खोलाहरूमा सतर्कता तहभन्दा माथिको बाढी मापन गरिएको छ। यसले गर्दा ती क्षेत्र आसपासका नदी किनार क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाले दिउँसोसम्म मेची, बिरिङ, निन्दा, कन्काई, चिसाङ खोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुन खोला लगायत साना नदीहरूमा बाढीको जोखिम रहेकाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।
यद्यपि आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र तिनीहरूका प्रमुख सहायक नदीहरू — कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई — मा जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान गरिएको छ। तर, ती नदीहरूमा पनि जलसतह बिस्तारै बढ्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका गतिविधिमा सावधानी अपनाउन विभागले आग्रह गरेको छ।



