राजा चार्ल्सद्वारा क्यानडाको संसद् उद्घाटन, स्थायी सार्वभौमिकताको महत्वमा जोड

बेलायती राजा चार्ल्सले क्यानडाको संसद् सम्बोधन गर्दै राष्ट्रको सार्वभौमिकता स्थायी र महत्त्वपूर्ण हुने कुरामा जोड दिएका छन्। मंगलबार क्यानडाको संसद्को उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले कुनै पनि देशसँगको सम्बन्ध समय अनुसार परिवर्तनशील भए पनि राष्ट्रिय सार्वभौमिकता अटल हुने बताएका हुन्।
५० वर्षपछि पहिलोपटक बेलायती राजाले क्यानडाको संसद्को उद्घाटन सत्रमा सम्बोधन गरेका हुन्। अप्रिल महिनामा सम्पन्न आम निर्वाचनमा विजय हासिल गरेका प्रधानमन्त्री मार्क कार्नीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि संसद्को उद्घाटन गरिएको हो।
राजाले आफ्नो सम्बोधनमा क्यानडाले अहिले ‘अस्वाभाविक चुनौती’को सामना गरिरहेको बताए। उनले साझेदार राष्ट्रहरूसँगको सम्बन्ध राष्ट्रिय आवश्यकता अनुसार परिवर्तन हुन सक्ने जनाउँदै क्यानडाको दीर्घकालीन हितमा आधारित सम्बन्धको वकालत गरे।
राजा चार्ल्सले प्रधानमन्त्री कार्नीको आर्थिक नीति प्रति समर्थन जनाउँदै १ जुलाईदेखि लागु हुने योजनाहरूको प्रशंसा गरे। उनले ती नीतिहरूले क्यानडाको अर्थतन्त्रलाई उन्नतितर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे।
राजाले क्यानडाको हाउजिङ संकट, बढ्दो अपराध दर तथा अन्तर्राष्ट्रिय रक्षा खर्च सम्बन्धी योजनाहरूका विषयमा कार्नी सरकारको सक्रियता उल्लेख गर्दै समर्थन जनाए।
यसअघि क्यानडाको संसद्मा बेलायती राजाको तर्फबाट पहिलोपटक सन् १९५५ मा एलिजाबेथ द्वितीयले सम्बोधन गरेकी थिइन्। स्वतन्त्र क्यानडामा बेलायती राजाका तर्फबाट संसद्मा गरिएको त्यो सम्बोधन ऐतिहासिक मानिन्छ।
यस पटकको सम्बोधनले क्यानडा-ब्रिटेन सम्बन्धमा नयाँ सन्देश दिएको र बदलिँदो विश्व सन्दर्भमा क्यानडाको स्वाभिमान र सार्वभौमिकताप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको विश्लेषकहरू बताउँछन्।



