देशमुख्य खबर

यस वर्ष मनसुन : जेठ १८ मा प्रवेश गर्ने, असोज १४ मा सकिने, वर्षा सरदरभन्दा बढी

नेपालमा यस वर्ष मनसुन औसत मितिभन्दा १३ दिन छिटो जेठ १८ गते (जुन १) बाट सुरु हुने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले हालै सार्वजनिक गरेको जानकारी अनुसार, यसपालि मनसुनको अवधि १२२ दिनको हुनेछ र असोज १४ (सेप्टेम्बर ३०) मा सकिनेछ।

नेपालमा अझै पनि एक तिहाइ खेतीयोग्य जमिनमा सिँचाइको सुविधा नपुगेकाले वर्षामा हुने आकासेपानीको अत्यधिक महत्त्व छ। त्यसैले मनसुनको समय, वर्षाको मात्रा र प्रभावबारे जनचासो स्वाभाविक रूपमा उच्च हुने गरेको छ।

विभागले यस वर्ष देशका अधिकांश स्थानमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना रहेको जनाएको छ। साथै, अधिकतम र न्यूनतम दुवै तापक्रम पनि औसतभन्दा माथि हुने अनुमान गरिएको छ। विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार प्रारम्भिक अनुमानमा जुन महिनामा विशेष गरी धेरै वर्षा हुने सम्भावना देखिएको छ।

भारतको मौसम विभागले मे २४ मा केरलाबाट मनसुन प्रवेश गरिसकेको जनाएको छ। यो औसत मितिभन्दा आठ दिन छिटो हो। बङ्गालको खाडीमार्फत मनसुन असाम, भुटान र बाङ्ग्लादेशका पूर्वी भूभाग हुँदै नेपाल प्रवेश गर्ने क्रम रहेकाले यही साता नेपालको पूर्वी भाग हुँदै मनसुन प्रवेश गर्ने सम्भावना रहेको विभागले जनाएको छ।

वर्षा र विपद्: सतर्कता आवश्यक

सरकारको विपद् व्यवस्थापन निकायले सरदरभन्दा बढी वर्षाको सम्भावनालाई ध्यानमा राखी विशेष कार्ययोजना तयार पारेको छ। प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार यो योजना कार्यकारी समितिबाट चाँडै अनुमोदन गरिनेछ।

वर्षाका कारण हुने सम्भावित विपद्ले यस वर्ष १९ लाख ९७ हजार मानिस प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको छ। करिब चार लाख ५७ हजार घरपरिवार जोखिममा पर्न सक्ने अनुमान गरिएको छ।

गत वर्षको अवस्था

२०२४ मा मनसुन जुन १० मा भित्रिएको थियो र अक्टोबर १२ मा बाहिरिएको थियो। सो अवधिमा देशभर १,७०० मिमि भन्दा बढी पानी परेको थियो। सुदूरपश्चिमको कञ्चनपुरस्थित दोधारामा एकै दिनमा ६२४ मिमि भारी वर्षा मापन गरिएको थियो।

सेप्टेम्बर २६–२९ को चारदिने भारी वर्षाले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा ठूलो क्षति पुर्याएको थियो। वर्षायामभरिमा देशभर बाढीपहिरोका कारण ४९५ जनाको मृत्यु भएको थियो, जसमध्ये २५० जनाको ज्यान सेप्टेम्बर अन्तिम साता परेको बाढीपहिरोमा गएको थियो। सो बाढीबाट झण्डै ४५ अर्ब रुपैयाँको क्षति भएको थियो।

दशैंमा ‘हिलेदशैं’ को सम्भावना

यस वर्षको मनसुन असोज १४ मा मात्र सकिने भएकाले दशैंमा पनि वर्षा हुने सम्भावना रहेको छ। घटस्थापना असोज ६ (सेप्टेम्बर २२) मा र विजया दशमी असोज १६ (अक्टोबर २) मा परेको हुँदा ‘हिलेदशैं’ पर्ने देखिन्छ।

विभागका अनुसार यस वर्ष वर्षामा प्रभाव पार्ने अन्तर्राष्ट्रिय मौसम प्रणालीहरू — एल निन्यो, ला निन्या र इन्डियन ओशन डाइपोल — तटस्थ रहने देखिएको छ। यी प्रणाली तटस्थ हुँदा मनसुनमा अत्यधिक उतारचढाव आउने सम्भावना न्यून हुन्छ।

प्रवक्ता पोखरेलका अनुसार, “मौसमको प्रक्षेपण पूर्ण निश्चित हुँदैन। तर प्रारम्भिक संकेतअनुसार वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने देखिएको छ।”

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button