No Image Headlineअर्थमुख्य खबर

वीरगञ्ज पब्लिक कलेजमा स्टार्टअप र उद्यमशीलता प्रवर्द्धन सम्बन्धी सेमिनार सम्पन्न

वीरगञ्ज पब्लिक कलेजको आयोजनामा “मधेश, नेपालमा उद्यमशीलता र स्टार्टअप इकोसिस्टमको विकास” विषयमा एक दिवसीय सेमिनार सम्पन्न भएको छ। सेमिनारमा उद्यमशीलता विकास, नवप्रवर्तन, अनुसन्धान, इन्क्युबेसन र विश्वविद्यालय-उद्योग सहकार्यका विविध पक्षहरूमा बहस गरिएको थियो।

कार्यक्रममा उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले नवप्रवर्तन (इनोभेसन) बिना उद्यमको विकास असम्भव भएको बताउँदै उद्योग व्यापारमा आधुनिक दृष्टिकोणको खाँचो औंल्याए।वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले परम्परागत उद्योग अब सफल नहुने उल्लेख गर्दै स्टार्टअपको युग सुरु भएको धारणा राखे।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले नेपालको सन्दर्भमा स्टार्टअपलाई पुनः परिभाषित गर्नुपर्ने र यसको लागि नीतिगत सुधार, सहुलियतपूर्ण कर्जा पहुँच, वित्तीय स्रोत, मानव संसाधन, पूँजी र बजारको रचनात्मक संयोजन आवश्यक रहेको बताए।

मधेश विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्यले मधेशमा स्टार्टअपका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै त्यसको विकासका लागि शैक्षिक संस्था, नीति निर्माता र उद्योगीहरूको सहकार्य अपरिहार्य रहेको बताए।

सो अवसरमा कलेजमा स्थापना गरिएको ‘बुद्ध इन्क्युबेसन सेन्टर’ को पनि उद्घाटन गरिएको थियो, जसले नवप्रवर्तनशील सोच भएका विद्यार्थी र युवा उद्यमीलाई आवश्यक सहयोग र मार्गदर्शन प्रदान गर्नेछ।

कार्यक्रम विश्वविद्यालय अनुदान आयोगद्वारा सहयोग प्राप्त थियो। सेमिनारले मधेश प्रदेशमा उद्यमशीलता प्रवर्द्धन र स्टार्टअप संस्कृति विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button