हार्वर्ड विश्वविद्यालयमाथि विदेशी विद्यार्थी भर्नामा अमेरिकी प्रशासनको रोक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हार्वर्ड विश्वविद्यालयमाथि विदेशी विद्यार्थी भर्ना रोक लगाएको छ। यस निर्णयअनुसार विश्वविद्यालयको स्टुडेन्ट एक्सचेन्ज भिजिटर प्रोग्राम स्थगित गरिएको छ, जसको निगरानी होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसनले गर्दै आएको थियो।
होमल्यान्ड सेक्युरिटी विभागद्वारा पठाइएको आधिकारिक चिठीमा हार्वर्डलाई विदेशी विद्यार्थी भर्ना नगर्न भनिएको छ। साथै, विश्वविद्यालय स्थानान्तरण प्रक्रियामा संलग्न विद्यार्थीहरू आप्रवासी नभएको पुष्टि गर्नुपर्नेछ।
हार्वर्ड विश्वविद्यालयले यस कदमको विरोध गर्दै विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा उक्त निर्णयलाई “अन्यायपूर्ण र प्रतिशोधपूर्ण” भन्दै आलोचना गरिएको छ।
यससँगै, हार्वर्डले संघीय सरकारबाट पाइरहेको अनुदान समेत तीन चरणमा रोकिएको जनाएको छ। विश्वविद्यालयका प्रमुख एलन गार्वरले आर्थिक संकटको सामना गरिरहेको भन्दै पूर्व विद्यार्थीहरूलाई सहयोग गर्न अपिल गरेका छन्।
यसबीच, होमल्यान्ड सेक्युरिटी विभागकी सचिव क्रिस्टी नोयमले सामाजिक सञ्जालमार्फत हार्वर्डको पारदर्शिता माथि शंका व्यक्त गरेकी छन्। उनले विश्वविद्यालयको गतिविधि नियाल्न आवश्यक रहेको उल्लेख गरेकी छन्।



