लखनउ सुपर जायन्ट्सको सानदार जित, मिचेल मार्सको शतकले गुजरात टाइटान्स ३३ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सले मिचेल मार्सको उत्कृष्ट शतकको मद्दतले गुजरात टाइटान्सलाई ३३ रनले पराजित गरेको छ।
लखनउका लागि मार्सले केवल ६४ बलमा ११७ रनको विस्फोटक पारी खेले भने निकोलास पूरणले पनि २७ बलमा ५६ रनको योगदान दिए। टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा २३५ रनको विशाल योगफल तयार पारेको थियो।
२३६ रनको लक्ष्य पछ्याउने क्रममा गुजरातले २० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन मात्र बनाउन सक्यो। गुजरातका साहरुख खानले २९ बलमा ५७ रन बनाए भने सेरफाने रुदरफोर्डले ३८, जोस बटलरले ३३, शुभमन गिलले ३५ र साइ सुदर्शनले २१ रन बनाए। लखनउका बलर विल ओ’रुकेले प्रभावशाली प्रदर्शन गर्दै चार ओभरमा २७ रन दिँदै तीन विकेट लिए।
यो जितसँगै लखनउ सुपर जायन्ट्सले सम्मानजनक रूपमा प्रतियोगिता टुंग्याएको छ। यद्यपि टोली प्ले अफको दौडबाट यसअघि नै बाहिरिसकेको हो। लखनउ १४ खेलमा १२ अंकसहित छैटौँ स्थानमा रहेको छ।
विपरीत, हारका बाबजुद गुजरात टाइटान्स भने १८ अंकसहित तालिकाको शीर्ष स्थानमा यथावत् रहेको छ। आगामी खेलमा गुजरातले चेन्नई सुपर किङ्सको सामना गर्नेछ। यसैबीच, दोस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बंगलोर र तेस्रो स्थानको पन्जाब किङ्स दुवैसँग १७ अंक रहेका छन् र दुवैले अझै एक–एक खेल खेल्न बाँकी छ। क्वालिफायर १ मा स्थान सुरक्षित गर्न अबको खेल यी टोलीका लागि निर्णायक हुनेछ।


