
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रहिरहेको छ भने पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको जानकारी दिइएको छ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा तथा अन्य पहाडी भागका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।
त्यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। आज सूर्योदय बिहान ५ बजेर १५ मिनेटमा भएको थियो भने सूर्यास्त साँझ ६ बजेर ४६ मिनेटमा हुनेछ।



