
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायु, स्थानीय वायु तथा अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतः सफादेखि आंशिक बदलीसम्म देखिएको छ।
आज दिउँसो कोशी प्रदेशसहितका पहाडी भूभागहरूमा आंशिकदेखि साधारण बदली रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा अन्य पहाडी क्षेत्रका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का वर्षासहित हिमपात हुने सम्भावना पनि महाशाखाले जनाएको छ।
रातिको मौसमसम्बन्धी पूर्वानुमान अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतः सफादेखि आंशिक बदलीसम्म कायम रहने छ। ती प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।
महाशाखाले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा सम्भावित चट्याङ्ग र वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।



