No Image Headlineअन्तराष्ट्रिय

अमेरिका–चीन व्यापार युद्ध मत्थर, आयात शुल्क कटौतीको सहमति

स्वीट्जरल्यान्डमा भएको उच्चस्तरीय वार्तापछि अमेरिका र चीनबीच जारी व्यापार युद्धलाई मत्थर गर्ने उद्देश्यले दुई देशले एक अर्कामाथि लगाइएको आयात शुल्कमा उल्लेखनीय कटौती गर्ने सहमति गरेका छन्।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार दुई देशबीच ९० दिनका लागि लगाइएको आयात शुल्कमा ११५ प्रतिशतसम्मको कटौती गर्न सहमति भएको छ।

गत महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनबाट हुने आयातमा थपिएको उच्च शुल्क फिर्ता गर्ने निर्णय गरेसँगै यो सहमति सार्वजनिक भएको हो। सहमतिपछि विश्वभरका धितोपत्र बजार उकालो लागेका छन्।

ट्रम्प प्रशासनले यसअघि विश्वका ६० व्यापारिक साझेदारहरूमाथि उच्च कर लगाएको थियो, जसमा चीन पनि एक थियो। बदलामा चीनले पनि अमेरिकी उत्पादनहरूमा कर बढाएको थियो, जसका कारण अमेरिका–चीन व्यापारमा ठूलो गिरावट आएको थियो।

अहिलेसम्मको व्यवस्था अनुसार, अमेरिका र चीनले ट्रम्पले ‘आर्थिक स्वतन्त्रता दिवस’ का दिन तोकेको १० प्रतिशत करबाहेक अन्य सबै शुल्कहरू ९० दिनका लागि स्थगन गर्ने सहमति गरेका छन्। अब चीनबाट अमेरिकामा हुने आयातमा ३० प्रतिशत मात्रै कर लाग्नेछ भने चीनले अमेरिकी सामग्रीमाथि लगाउने कर १० प्रतिशतमा सीमित हुनेछ। यो व्यवस्था मे १४ बाट कार्यान्वयनमा आउने जनाइएको छ।

यद्यपि, अमेरिकाले फेन्थनाइलसम्बन्धी औषधिको गैरकानुनी कारोबार रोक्न चीनमाथि थप दबाब दिने रणनीतिअन्तर्गत उक्त औषधिमा २० प्रतिशत अतिरिक्त कर कायम राख्ने भएको छ।

अत्यधिक करका कारण दुवै देशको व्यापार प्रभावित भएको थियो। अमेरिकी बन्दरगाहमा चीनबाट आउने जहाजको संख्या कमिएको थियो भने चीनमा पनि कारखाना उत्पादन घटेको थियो।

सहमति घोषणा गर्दै अमेरिकी अर्थमन्त्री बेसेन्टले भने, “यो उच्च करको परिणाम प्रतिबन्धकै बराबर थियो र त्यो दुवै पक्षले चाहेका थिएनन्।” उनले दुवै देशबीचको सम्बन्ध विच्छेदको चाहना नभएको र सन्तुलित व्यापारको उद्देश्य रहेको बताए।

चीनको वाणिज्य मन्त्रालयले पनि सहमतिलाई दुई देशबीचको मतभेद समाधान गर्ने सकारात्मक कदमको रूपमा उल्लेख गर्दै, यसले भविष्यमा सहकार्यको आधार तयार गर्ने विश्वास व्यक्त गरेको छ।

क्यापिटल इकोनोमिक्सका प्रमुख अर्थशास्त्री निल शिअरिङले यो सम्झौतालाई व्यापार युद्धलाई मत्थर पार्ने महत्त्वपूर्ण मोडको रूपमा व्याख्या गरेका छन्। उनले भने, “व्यापार अब पनि जारी रहनेछ, तर उपभोक्ताले बढेको मूल्य वहन गर्नुपर्नेछ।”

समाचार सार्वजनिक भएलगत्तै हङकङको ‘हाङ सेङ’ सूचकांक ३ प्रतिशतले उकालो लाग्दा चीनको ‘साङ्घाई कम्पोजिट’ सूचकांक ०.८ प्रतिशतले बढेको छ। युरोपेली तथा अमेरिकी धितोपत्र बजारमा समेत सकारात्मक संकेत देखिएको छ।

सामुद्रिक पारवहन कम्पनीहरूको शेयर मूल्य १४ प्रतिशतले बढेको छ भने व्यापारिक अनिश्चितता हटेसँगै सुनको मूल्य ३ प्रतिशतले घटेको छ।

यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि व्यापार तनावका कारण विश्व आर्थिक वृद्धिदर ३ प्रतिशतबाट घटाएर २.८ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको थियो।

संयुक्त वक्तव्यअनुसार, भविष्यमा व्यापारसम्बन्धी विवाद समाधान गर्न एउटा संयन्त्र बनाइनेछ। अमेरिका लामो समयदेखि चीनबाट हुने अत्यधिक आयात तथा अमेरिकी कम्पनीहरूमाथि प्रविधि चोरीको आरोप लगाउँदै आएको छ। यसअघि अमेरिका र बेलायतबीच पनि आयात शुल्क घटाउने सहमति भएको थियो।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button