भारत-पाकिस्तान तनाव : पाकिस्तानले युद्धविराम उल्लंघन गरेको हो ?

भारतका विदेश सचिव विक्रम मिसरीले एक विशेष प्रेस ब्रिफिङ आयोजना गर्दै पाकिस्तानले शनिवार अपराह्न दुई देशबीच भएको संघर्षविराम गर्ने सहमति राति उलङ्घन गरेको बताएका छन्। स्थानीय समय अनुसार रातको ११ बजे तिर गरिएको छोटो प्रेस ब्रिफिङमा विदेश सचिवले भने, “केही दिनदेखि भइरहेको सैन्य कारबाही रोक्ने सम्झौता आज अपराह्न भएको थियो। तर त्यसको केही घण्टापछि नै पाकिस्तानको तर्फबाट त्यसको घोर उलङ्घन भएको छ।”
उनले भने,”भारतीय सेनाले जबाफी कारबाही गरेको छ र सीमामा अतिक्रमणसँग जुधिरहेको छ। यो एकदमै निन्दनीय छ र यसका लागि पाकिस्तान जिम्मेवार छ।” अढाई मिनेट चलेको प्रेस ब्रिफिङमा भारतका विदेश सचिव विक्रम मिसरीले पाकिस्तानलाई उलङ्घनका घटनालाई सम्बोधन गर्न पनि आह्वान गरे।
उनले भने,”पाकिस्तानले अवस्थालाई राम्ररी बुझोस् र यो अतिक्रमणलाई रोक्न तुरुन्त उचित कारबाही गरोस्।” सेनाले स्थितिमा कडा नजर राखिरहेको छ र उसलाई कुनै पनि प्रकारको अतिक्रमण प्रति प्रतिक्रिया जनाउन आवश्यक ठोस र कडा कदम चाल्न आदेश दिइएको छ।”
यसअघि भारतीय समय अनुसार अपराह्नको ५ः३० बजे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र पाकिस्तानकाबीच तत्काल र पूर्ण संघर्ष विराम गर्ने सहमति बनेको जानकारी दिएका थिए।भारतका विदेश सचिव मिसरीले पनि त्यस्तो जानकारी दिँदै दुवै पक्षबीच पाँच बजेपछि नै गोलीबारी र सैन्य कारबाही रोक्ने सहमति भएको बताएका थिए।
यस विषयमा पाकिस्तानको टिप्पणी वा प्रतिक्रिया आइसकेको छैन।
भारत र पाकिस्तानबीच संघर्षविरामको सहमति भएको घोषणा गरिएको केही घण्टापछि नै जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दूल्लाहले श्रीनगरमा विस्फोटका आवाजहरू सुनिएका बताएका थिए।
सोसल मिडिया एक्समा एक सन्देश लेख्दै उनले भनेका थिए,”संघर्षविरामको कुरा के भयो? श्रीनगरमा चारै तिरबाट विस्फोटको आवाजहरू सुनिएको छ।”
त्यस्तै गुजरात राज्यका गृह राज्यमन्त्री हर्ष संघवीले पनि सोसल मिडियामा भने,”कच्छ जिल्लामा केही ड्रोनहरू देखिएका छन्। यहाँ पूरै ब्ल्याक आउट गरिने छ।” बीबीसी



