नेपालको पर्यटन क्षेत्रमा भारत पाकिस्तान युद्धको बाछिटा

भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण दुवै देशले एकअर्काको आकाशमार्ग प्रयोगमा रोक लगाएपछि नेपालबाट विशेष गरी पश्चिमतर्फ उड्ने अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्। साथै, यसले नेपालको पर्यटन क्षेत्रमा समेत नकारात्मक असर पार्न थालेको देखिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार हाल टर्किश एअरलाइन्स, जजिरा, कुवेत एअरवेज, कतार एअरवेज जस्ता खाडी मुलुकतर्फ जाने/आउने विमानहरू पाकिस्तानको आकाशमार्ग छलेर वैकल्पिक र लामो मार्ग प्रयोग गर्न बाध्य भएका छन्। नेपालका वायुसेवा निगम र हिमालयन एअरलाइन्स जस्ता कम्पनीहरूले पनि यस्तै मार्ग रोज्नुपरेको उनले जानकारी दिए।
“टर्किश एअरलाइन्ससँग समन्वय गर्दा काठमाडौँ आउँदा एक घण्टा र फर्किंदा दुई घण्टा ढिला हुन थालेको छ,” निरौलाले बताए। यद्यपि हालसम्म कुनै उडान रद्द नभएको उनले स्पष्ट पारे।
पहिले पश्चिमबाट आउने विमानहरू इरान, इराक, अफगानिस्तान, पाकिस्तान हुँदै सिमराको आकाशमार्ग प्रयोग गर्थे। तर अहिले भारतको मुम्बई भएर अरब सागर, ओमान मार्ग समात्न थालेका छन्। यसले समय मात्र होइन, इन्धन खर्च पनि बढाएको छ।
दैनिक झन्डै ३० अन्तर्राष्ट्रिय उडानहरू यसबाट प्रभावित भएको निरौलाको भनाइ छ। उनले हालको अवस्थाले टिकट भाउमा तत्काल प्रभाव नपार्ने अपेक्षा गरे तापनि खर्च बढिरहेमा भविष्यमा टिकट महँगिन सक्ने पर्यटन व्यवसायीहरूको अनुमान छ।
यस तनावपूर्ण अवस्थाको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रमा देखिन थालेको छ। नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) की वरिष्ठ उपाध्यक्ष जिस्वाँ तुलाधर श्रेष्ठका अनुसार भारतीय पर्यटकहरूले बुकिङ रद्द गर्न थालेका छन्।
“करिब २० प्रतिशत बुकिङ रद्द भइसकेको छ। अझ ठूलो असर पर्न सक्ने चिन्ता छ,” श्रेष्ठले बताइन्। विशेष गरी स्वतन्त्र रुपमा घुम्ने (FIT) पर्यटकहरूले बुकिङ रद्द गरिरहेका छन्। मे २३ मा आयोजना हुने ‘बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट’ का लागि आउने धेरै भारतीय सहभागीले पनि बुकिङ रद्द गरेका छन्।
पर्यटन बोर्डका अनुसार सन् २०२४ मा नेपाल आएका ११ लाख ४७ हजार पर्यटकमध्ये तीन लाख १७ हजारभन्दा बढी भारतीय थिए। २०२५ मा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।
तर हालको परिस्थितिले पर्यटन लक्ष्यमा प्रतिकूल असर पर्न सक्ने संकेत देखिएको छ। विशेष गरी मे, जुन र जुलाई महिनामा भारतीय पर्यटकहरूको ठूलो आगमन हुने हुँदा यो तनावपूर्ण अवस्थाले नेपालको पर्यटन क्षेत्रमा ठूलो धक्का पुर्याउने चिन्ता व्यक्त गरिएको छ।



