No Image Headlineखबर फटाफटदेश

भाजपा नेता भगत सिंह कोश्यारीको भ्रमणले दिएको सन्देश

भारतीय जनता पार्टी (भाजपा) का पूर्व उपाध्यक्ष तथा उत्तराखण्डका पूर्व मुख्यमन्त्री भगत सिंह कोश्यारी यतिबेला काठमाडौंमा उच्च राजनीतिक भेटघाटमा सक्रिय छन्। तर, उनको भ्रमणको उद्देश्यबारे खुलेर चर्चा हुन नपाएको देखिएको छ।

कोश्यारीले आफू नितान्त व्यक्तिगत भ्रमणमा आएको दाबी गरेका छन्। बद्रीनाथ मन्दिर निर्माण समितिको निम्तोमा नेपाल आएको उनको भनाइ छ। साथै, नेपालमा पुराना साथीहरू भएको र उनीहरूलाई भेट्ने क्रममा सामान्य शिष्टाचार आदानप्रदान भएको उनले बताएका छन्।
“बिहानदेखि साँझसम्म भिड लागिरहेको छ, केही ठूला मान्छे छन्, उनीहरूको घरमै पुगेर नमस्ते गर्छु, त्योभन्दा धेरै केही होइन,” उनले भने।

तर, यथार्थमा उनले नेपालका शीर्ष नेताहरूसँग एकपछि अर्को भेटघाट गरिरहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग उनी भेटिसकेका छन्। राजनीतिक विषयमा भने कोश्यारीले कुनै खास छलफल नभएको दाबी गरेका छन्। फेसबुकमार्फत उनले केही भेटघाटका तस्बिरहरू सार्वजनिक गर्दै “नेपाल–भारत सम्बन्ध, सांस्कृतिक विरासत र आपसी समन्वय जस्ता विषयमा सकारात्मक छलफल भयो” भन्ने टिप्पणी गरेका छन्।

नेपाल भ्रमणका क्रममा कोश्यारीसँग कांग्रेस नेता एनपी साउदले पनि भेट गरेका थिए। साउदका अनुसार कश्मीर घटनासँगै नेपाल–भारत सम्बन्धबारे पनि छलफल भएको थियो। “आतङ्ककारीहरूले नेपाली युवाको हत्या गरेकोप्रति समवेदना व्यक्त गर्नुभयो,” साउदले बताए।

राजनीति नछोडे पनि सक्रिय राजनीति छाडेका कोश्यारी राष्ट्रिय स्वयंसेवक संघको उच्च मर्यादाक्रममा छन्। एक जानकारका अनुसार यो भ्रमण केवल शिष्टाचारमा सीमित नरहेको अनुमान गर्न सकिन्छ।

वरिष्ठ पत्रकार युवराज घिमिरेका अनुसार, नेपालमा यस्ता भ्रमणलाई लिएर कुनै स्पष्ट कूटनीतिक प्रोटोकल नहुँदा यसलाई केवल ‘निजी भ्रमण’ का रूपमा लिन सकिँदैन। “एक महिनाअघि गणेशमान सिंह फाउन्डेसनको कार्यक्रममा कोश्यारी पनि आउनुपर्ने सूचना थियो, तर त्यसबेला उनीहरूलाई भारतको आधिकारिक प्रतिनिधिका रूपमा आउने भनिएको थियो,” उनले बताए। “त्यसैले अहिले उनी अनौपचारिक ढंगमा नेपाल आए पनि भ्रमणमा राजनीतिक सन्देश लुकेको देखिन्छ।”

घिमिरेका अनुसार कोश्यारीको भ्रमण नेपालको आन्तरिक राजनीति र भारतको भूमिका पुनर्मूल्यांकनसँग जोडिएको हुन सक्छ। पछिल्ला वर्षहरूमा नेपालमा भारतको कूटनीतिक विश्वसनीयता कमजोर बन्दै गएको आँकलन भारतभित्रै पनि भइरहेको उल्लेख गर्दै उनले भने, “भारतको पूर्वका निर्णय र व्यवहारबाट नेपालमा असन्तोष बढेको छ, कोश्यारीजस्ता व्यक्तिहरूले यस्ता सन्दर्भ बुझेर फर्किने सम्भावना छ।”

यसअघिका भ्रमणमा भाजपा नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग भेट नगरेको पनि चर्चा भएको थियो। कोश्यारीले पनि राप्रपाका नेताहरूसँग भेट नगर्नु पछाडिको कारणबारे घिमिरे भन्छन्, “भारतको राजनीतिमा राजसंस्था र हिन्दू राष्ट्रबारे अस्पष्टता कायम छ। सम्भवतः अहिलेको समयमा भारतले राप्रपासँग दूरी राखेर तटस्थ देखिन चाहेको हो।”

तर, उनले भविष्यमा परिस्थिति फेरिएमा भारतले राप्रपासँग समेत संवाद गर्नुपर्ने अवस्था आउन सक्ने बताए। यतिबेला राप्रपाले जेठ १५ देखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरिसकेको छ।

यसरी हेर्दा कोश्यारीको नेपाल भ्रमण केवल ‘निजी’ हैन, यो एक प्रकारको ‘निम्न स्तरको कूटनीतिक अनुगमन भ्रमण’ पनि हुन सक्ने संकेतहरू प्रकट हुँदैछन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button