No Image Headlineयस्तो पनिस्वास्थ्य/जिवनशैली

बडीबिल्डिङका लागि आमाको दूध पिउने प्रवृत्ति : विश्वास र विरोधाभास

आमाको दूधलाई शिशुहरूका लागि पोषक र रोगप्रतिरोधक तत्वहरूको स्रोतका रूपमा चिनिन्छ। तर हालका वर्षहरूमा केही वयस्क, विशेषतः बडीबिल्डरहरू, यसलाई ‘सुपरफूड’ का रूपमा लिन थालेका छन्। यसले वैज्ञानिकहरू, स्वास्थ्य विशेषज्ञ र नैतिक बहसकर्ताहरूको ध्यान तानेको छ।

३९ वर्षीय अमेरिकी बडीबिल्डर जेमिसन रिटेनरले आफ्नी पार्टनर मेलिसाको स्तनपानको समयमा पहिलो पटक मानव दूध सेवन गरेका थिए। उनी भन्छन्, “उनी अचम्म मानिन्, तर मैले शेकमा मिसाएर सेवन गर्न थालेँ।” जेमिसनका अनुसार उनले यो दूध सेवन गरेपछि आफ्नो मांसपेशी विकासमा उल्लेखनीय परिवर्तन देखेका थिए। उनका अनुसार आठ सातामा झण्डै ५ प्रतिशत मांसपेशी बढेको र तौल घटेको थियो।

तर, वैज्ञानिकहरूले यस विषयमा चेतावनी दिँदै आएका छन्। क्यालिफोर्निया यूनिभर्सिटीको ह्युमन मिल्क इन्स्टिच्युटका निर्देशक डा. लस बोड भन्छन्, “मानव दूधमा धेरै प्रोटिन हुन्छ, तर वयस्कहरूमा यसको प्रभावबारे वैज्ञानिक प्रमाण पर्याप्त छैन।” उनले विशेष गरी अनलाइनमार्फत दूध किन्नुमा जोखिम देखिएको उल्लेख गरेका छन्।

सन् २०१५ मा अमेरिकी नेशनवाइड चिल्ड्रेन्स हस्पिटलले गरेको एक अध्ययनले अनलाइन खरिद गरिएका १०१ दूधका नमूनामध्ये ७५ प्रतिशतमा हानिकारक जीवाणु भेटिएको र १० प्रतिशतमा गाईको दूध वा बेबी फर्मुला मिसाइएको पाइएको थियो। डा. बोड भन्छन्, “यो दूध एचआईभी, हेपाटाइटिसजस्ता रोगको स्रोत बन्न सक्छ।”

विशेषज्ञहरूले सुझाएका छन् कि अतिरिक्त आमाको दूध नाफाका लागि बेच्नेभन्दा पनि समयपूर्व जन्मिएका वा खाँचोमा परेका शिशुहरूलाई दान गर्नुपर्छ। डा. मेघन आजाद भन्छिन्, “वयस्कलाई यो दूध हानिकारक नहुन सक्छ तर यसले वास्तवमै आवश्यक परेका शिशुहरूलाई असर गर्न सक्छ।”

यद्यपि, मानव दूधका केही तत्त्वहरूमा भविष्यमा स्वास्थ्य उपचारको सम्भावना देखिएको छ। डा. आजाद विशेष रूपमा ह्युमन मिल्क ओलिगोस्याकराइड्स (एचएमओ) मा आशावादी छन्। यी प्रीबायोटिक फाइबरहरूले आन्द्राको माइक्रोबायोम सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्।

सन् २०२१ मा मुसामा गरिएको एक अध्ययनमा डा. बोडले एचएमओले धमनीमा हुने रोग एथेरोस्क्लेरोसिसको विकास रोक्न मद्दत गर्न सक्ने निष्कर्ष निकालेका छन्। यदि क्लिनिकल परीक्षणहरू सफल भए, यसले हृदयाघात र स्ट्रोकका कारण हुने लाखौँ मृत्युहरू घटाउन सक्ने उनी विश्वास गर्छन्।

यद्यपि प्रारम्भिक अनुसन्धानहरूले आशा देखाए पनि क्लिनिकल प्रमाणहरू अझै अपर्याप्त छन्। वैज्ञानिकहरू भने भविष्यमा मानव दूधका यस्ता तत्त्वहरू औषधिको रूपमा विकास हुने सम्भावनामा विश्वास राख्छन्।

तर अहिलेलाई विशेषज्ञहरूको सल्लाह स्पष्ट छ— वयस्कहरूले अनलाइन वा असुरक्षित स्रोतबाट मानव दूध नकिनून्, र शिशुहरूको आवश्यकतामा प्राथमिकता दिइनुपर्छ। एजेन्सीहरुको सहयोगमा

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button