No Image Headlineदेशविशेष

यो वर्ष मनसुनमा औसतभन्दा बढी वर्षा हुने, यस्ता छन् कारण

झन्डै डेढ महिनामा सुरु हुने मनसुन सिजन यस वर्ष नेपालसहित दक्षिण एसियाका धेरै भागमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ। भारतको पुणेमा सम्पन्न साउथ एशियन क्लाइमेट आउटलुक फोरमको सत्रमा यस्तो प्रक्षेपण गरिएको हो, जहाँ नेपालका मौसमविद् सुदर्शन हुमागाईँ पनि सहभागी थिए।

सत्रका अनुसार दक्षिण एसियाको उत्तर, दक्षिण, पूर्व र उत्तरपूर्वका केही क्षेत्रमा भने औसत वा औसतभन्दा केही कम वर्षा हुने सम्भावना छ। यो प्रक्षेपण विभिन्न जलवायु मोडेलहरूको विश्लेषणबाट तयार पारिएको हो। मौसमविद्हरूले मे महिनाको मध्यतिर पुनः अद्यावधिक प्रक्षेपण सार्वजनिक गरिने जनाएका छन्।

यो क्षेत्रीय पूर्वानुमान दक्षिण एशियाका नौ देश (सार्क सदस्य राष्ट्रहरू र म्यान्मार) का मौसम विभागहरूले अन्तर्राष्ट्रिय विज्ञहरूको सहयोगमा तयार गरेका हुन्। गत वर्ष नेपालमा मनसुन औसतभन्दा १३ दिन लामो भई १२२ प्रतिशत वर्षा (१६७०.७ मिमी) भएको थियो।

विश्व मौसम संगठनको नीतिअनुसार पछिल्ला वर्षहरूमा यस्ता क्षेत्रीय पूर्वानुमान गरिंदै आएका छन्। मौसमविद्हरूका अनुसार दक्षिण एशियामा मनसुनलाई मुख्य रूपमा प्रशान्त महासागरमा देखिने एल निन्यो र ला निन्या प्रणालीले प्रभाव पार्छ।

हाल प्रशान्त महासागरमा यी प्रणाली तटस्थ अवस्थामा छन् (न एल निन्यो न ला निन्या), र यो अवस्था मनसुनदेखि हिउँदसम्म यस्तै रहने अपेक्षा गरिएको छ।

एल निन्योका बेला समुद्री पानी सामान्यभन्दा तातो हुने हुँदा कम वर्षा हुन्छ भने, ला निन्याका बेला समुद्री पानी चिसो हुने र अधिक वर्षा हुने देखिन्छ। यद्यपि, तटस्थ अवस्थाको बेला पनि नेपालमा सामान्यभन्दा बढी वर्षा हुने प्रवृत्ति देखिएको मौसमविद् हुमागाईँ बताउँछन्।

नेपालमा मनसुनमा असर पार्ने अन्य प्रणालीहरूमा हिन्द महासागरको डाइपोल र उत्तरी गोलार्द्धमा पर्ने हिउँसम्बन्धी अवस्था पनि पर्छन्। यसपालि हिन्द महासागरमा पनि तटस्थ अवस्थामा रहेको छ र मनसुन अवधिभर यसैगरी रहने प्रक्षेपण गरिएको छ।

यसैगरी, उत्तरी गोलार्द्धमा यो वर्ष कम हिउँ परेकाले त्यसको असरस्वरूप नेपालमा बढी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूको निष्कर्ष छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button