No Image Headlineदेशविशेष

एक महीनाको शिक्षक आन्दोलन : भयो उधारो सहमति

विगत एक महीनादेखि काठमाडौंको सडकमा आन्दोलनरत शिक्षकहरू बिहीबारदेखि घर फर्किने भएका छन्। उनीहरू अब विद्यालय फर्केर विद्यार्थीको भर्ना, कापी जाँच र कक्षा १२ को परीक्षामा सक्रिय रूपमा सहभागी हुनेछन्।

‘शिक्षा ऐन गोजीमा हालेरमात्र घर फर्किन्छौं’ भन्ने अडानमा रहेका शिक्षकहरू तीन पृष्ठको सहमतिको कागज गोजीमा हालेर आन्दोलन स्थगित गर्न सहमत भएका हुन्।

शिक्षकहरू र सरकारबीच मंगलबार र बुधबार दुई चरणमा वार्ता भएको थियो। वार्तामा शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखक, र अर्थमन्त्री विष्णु पौडेलको उपस्थिति रहेको थियो। कांग्रेसका प्रमुख सचेतक श्यामकृष्ण घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, र शिक्षा समितिका सभापति अम्बरबहादुर थापाले आगामी असार १५ भित्र नयाँ शिक्षा ऐन जारी गर्ने लिखित प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गर्ने सहमति भएको हो।

वार्तापछि भएको ९ बुँदे सहमतिमा शिक्षामन्त्री रघुजी पन्तले एकल हस्ताक्षर गरेका छन्। मन्त्रिपरिषद बैठक बसेर बुधबार नै सहमतिको अनुमोदन गरिएको छ।

सहमति अनुसार आन्दोलनका क्रममा घाइते भएका शिक्षकहरूको निःशुल्क उपचार गरिनेछ। साथै, सिभिल अस्पताल बानेश्वरमा उपचार गर्दा निजामति कर्मचारी सरह सहुलियत प्राप्त गर्नेछन्। सरकारले शिक्षकहरूको तलब, सुविधा र सुरक्षामा समेत सुधार गर्ने आश्वासन दिएको छ।

शिक्षक संगठनले सरकारले सहमति कार्यान्वयनको दिशामा ठोस कदम चाल्ने विश्वास व्यक्त गर्दै आन्दोलन हाललाई स्थगित गरिएको जनाएका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button