
आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालसहित विश्वभर विविध कार्यक्रमका साथ मनाइँदैछ। श्रमिकहरूको पेसागत मर्यादा, सम्मान र अधिकारको प्रत्याभूति गराउने उद्देश्यले हरेक वर्ष मे १ तारिखका दिन यो दिवस मनाइन्छ।
‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ को मे १ मा अमेरिकाको सिकागो शहरमा सुरु भएको ऐतिहासिक मजदुर आन्दोलनको स्मरणमा यो दिवस मनाउन थालिएको हो।
सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केटमा भएको बम विस्फोट र प्रहरीले चलाएको गोलीबाट सातजना मजदुरको मृत्यु भएको थियो। आन्दोलनले श्रमिक अधिकारको क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेपछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न श्रमिक नेताहरूको अन्तर्राष्ट्रिय सम्मेलनले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।
नेपालमा समेत विभिन्न मजदुर संगठनले र्याली, सभालगायत कार्यक्रम गरी आजको दिनलाई स्मरण गर्दैछन्। नेपालमा औपचारिक रूपमा श्रमिक आन्दोलन २००३ सालमा सुरु भएको मानिन्छ। विराटनगर जुट मिलमा काम गर्ने मजदुरहरूले आफ्ना हकहित र सेवा सुविधाको माग गर्दै नेपाली कांग्रेसको नेतृत्वमा आन्दोलन गरेका थिए। तत्कालीन सरकारले आन्दोलनलाई बलपूर्वक दमन गरेको थियो भने जननेता बीपी कोइरालालगायत थुप्रै नेताहरू पक्राउ परेका थिए।
नेपालको प्रजातान्त्रिक आन्दोलनको प्रस्थान विन्दुका रूपमा समेत मानिने उक्त श्रमिक आन्दोलनपछि २००७ सालमा प्रजातन्त्र स्थापनामा महत्वपूर्ण योगदान पुगेको इतिहास छ। त्यसयता, २०४६ सालको राजनीतिक परिवर्तनपश्चात नेपाल सरकारले मे १ मा सार्वजनिक बिदा दिने निर्णय गर्दै आएको छ। यस दिवसमा नेपालका मजदुर संगठनहरूले सरकार र रोजगारदाताप्रति श्रमिक हक–हित सुनिश्चित गर्न दबाब दिन विविध कार्यक्रम गर्दै आएका छन्।



