अन्तराष्ट्रिय

क्यानडाको भ्यानकुभर सहरमा महोत्सवमा कार जोतिँदा कम्तीमा नौ जनाको मृत्यु

क्यानडाको भ्यानकुभर सहरमा आयोजित लापु लापु डे महोत्सवका दौरान एक कारले भीडमा जोतिँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ। भ्यानकुभर प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनामा कैयौँ व्यक्ति गम्भीर घाइते भएका छन्।

फिलिपिनो समुदायद्वारा आयोजित महोत्सवको समयमा भएको यस घटनाले भ्यानकुभर सहर स्तब्ध बनेको छ। भ्यानकुभरका मेयर केन सिमले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै लापु लापु डेमा यस्तो “भयानक” घटना हुनु अत्यन्तै दुःखद भएको बताएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरूमा सडकमा लडिरहेका मानिसहरू र घटनास्थलमा एम्बुलेन्सहरूको भीड देखिएको छ। घटनामा संलग्न कालो रंगको एसयूभी गाडीको अगाडिको भाग कुच्चिएको अवस्थामा भेटिएको छ भने चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटना स्थानीय समयअनुसार राति ८:०० बजेपछि भएको थियो।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले घटनाप्रति गहिरो समवेदना व्यक्त गर्दै एक्स प्लेटफर्ममा लेखेका छन्, “मारिएका र घाइते भएका सबैका परिवारजन, फिलिपिनो क्यानेडियन समुदाय र भ्यानकुभरवासीहरूप्रति मेरो गहिरो समवेदना व्यक्त गर्दछु। हामी सबै शोकमा डुबेका छौँ।” उनले उद्धार कार्यमा खटिएका सबैप्रति आभार समेत व्यक्त गरेका छन्।

कन्जरभेटिभ पार्टीका नेता पिएर पोलिएभ र एनडीपीका नेता जगमीत सिंहले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन्। एनडीपी नेता सिंह, जो दुर्घटना स्थलनजिकै बर्नाबी सेन्ट्रल क्षेत्रमा सङ्घीय चुनावका उम्मेदवार हुन्, महोत्सवमा उपस्थित थिए। उनले भने, “निर्दोष मानिसहरू मारिएको र घाइते भएको थाहा पाउँदा म स्तब्ध छु। हामी थप जानकारीको प्रतीक्षामा छौँ।”

भ्यानकुभर प्रहरीले अनुसन्धान जारी रहेको र थप विवरण चाँडै सार्वजनिक गरिने जनाएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button